काठमाडौं ।
विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् ।
नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम गरी खेलाडीलाई सम्मान सहित नगद पुरस्कार हस्तान्तरण गरेको हो ।
खेलाडीले जनही ३ लाख रुपैयाँ पाएका छन् । प्रमुख प्रशिक्षक जगत टमाटाले २ लाख रुपैयाँ र टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवाले जनही १ लाख पाएका छन् ।
यू–१९ टिमले विश्वकप छनोट वापत नेपाल क्रिकेट संघ (क्यान)बाट घोषणा भएको १ लाख रुपैयाँ भने गत बिहीबार नै प्राप्त गरिसकेका छन् ।
नेपाल सरकार र क्यानले गत फागुनमा विश्वकप छनोट भएपश्चात युवा टोलीलाई पुरस्कारको घोषणा गरेको थियो । अब यू–१९ टिमले एसिया कप छनोट भएवापत क्यानले घोषणा गरेको ५० हजार रुपैयाँ भने प्राप्त गर्न बाँकी रहेको छ ।
नेपाल सरकारबाट जनही ३ लाख पाउने खेलाडी
देव खनाल (कप्तान), दिपेश प्रसाद कंडेल (उपकप्तान), दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपक प्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम के.सी र मिलन बोहरा ।