हेटौंडा ।
नेकपा एमालेले आफ्ना प्रदेशसभा सदस्यको योजना बजेटमा समावेश नगरेर बागमती सरकारले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।
मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले विपक्षी दलहरुसँग सांसदका योजना बजेटमा समावेश गर्ने सहमति गरेर पछि बेइमानी गरेको आरोप लगाएका हुन् ।
सरकार कर्मचारीलाई देखाएर दलहरुबीच भएको सहमति कार्यान्वयनबाट भागिरहेको एमाले नेता थपलियाले बताए ।
उनले अझै दलहरुबीचको सहमति कार्यान्वयनको सम्भावना बाँकी नै रहेको भन्दै पालना गराएरै छाड्ने बताए ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा आफूहरुको योजना नपरेको भन्दै एमाले र राप्रपाले प्रदेशसभा बैठक अवरोध गरेका थिए ।
त्यसपछि दलहरुबीच सांसदहरुको योजना बजेटमा समावेश गर्ने र बजेट पास गर्ने सहमति भएको थियो । तर सहमति अनुसार सांसदहरुको योजना बजेटमा समावेश नगरिएको भन्दै एमाले र राप्रपाले सरकारको विरोध गर्दै आएका छन् ।