आँखा शिविरमा नौ सय २७ को उपचार   
     आँखा शिविरमा नौ सय २७ को उपचार   
    • बेल संचार

    • २३ चैत्र २०८०, शुक्रबार

सिमकोट

जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा नौ सय २७ जनाको आँखाको चेकजाँच भएको हो ।

यही चैत ६ गतेदेखि सञ्चालन भएको शिविरमा तीन सय ८५ पुरुष र पाँच सय ४२ महिलाको आँखा परीक्षण गरिएको केन्द्रका नेत्र अधिकृत बुम बोहराले जानकारी दिनुभयो । गाउँघरमै पुगेर शिविर सञ्चालन गरेर मोतियाविन्दु शल्याक्रिया छनोटका लागि आँखा चेकजाँच गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ८७ जनाको मोतियाविन्दु शल्यक्रियाका लागि छनोट भएका छन् ।

मोतियाविन्दु को गर्नुपर्नेमा ४९ महिला र ३८ पुरुष रहेका बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मोतियाविन्दुको समस्या देखापरेका आँखाका बिरामीको यही चैत २७ देखि २९ गतेसम्म जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरिने छ ।

आँखा शिविर सिमकोट गाउँपालिकाको डाडाफयाँ स्वास्थ्यचौकी, स्याडा, चौगनफया, बरगाउँ, ठेहे स्वास्थ्य चौकी र कुम्ली सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको थियो । साथै खार्पुनाथ गाउँपालिकाको छिप्रा स्वास्थ्यचौकी, याङ्चु, लाली र रायाँ स्वास्थ्य चौकीमा सञ्चालन भएर सम्पन्न भएको नेत्र अधिकृत बोहराले बताउनुभयो ।

उमेर बढ्दै जाँदा आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनुका साथै धुलो र धुवाँसँगै बिताउने जीवनशैलीले वृद्धवृद्धामा बढी मोतियाविन्दुको असर देखिने गरेको उहाँले बताउनुभयो । बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नुलगायत कारणले मोतियाविन्दुको समस्या देखिने गरेको बोहराको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा सिमकोट र जिल्ला आँखा उपचार केन्द्रको आयोजना तथा रेड्ली आँखा फाउन्डेसन र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक एवम् हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित