पर्वत
परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् ।
पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ ।
पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेपछि जिल्लामा व्यावसायिक रुपमा कोदोखेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालिएको जिल्लस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रले परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदान दिन थालेको हो । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि केन्द्रले सहयोग गरेको छ । कोदोखेती गर्ने किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आवमा कोदो बालीको प्रवर्द्धनका लागि किसानलाई रु पाँच लाख वितरण गरिएको छ । किसानलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको भन्दै यसले खेतबारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको उहाँको भनाइ छ । किसानलाई कार्यबोझ घट्नाका साथै उत्पादन लागत समेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ ।
यसबाहेक परम्परागत जातका बालीका रुपमा रहेका फापर, धान, जौ, कोदोको प्रशोधनका लागि रु चार लाख अनुदान वितरण गरिने अधिकारीले बताउनुभयो । पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ ।
जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले जानकारी दिनुभयो । यस वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको छ जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ ।
रु २३ करोड २८ लाख ७५ हजार भित्र्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिक टन किसानले खाद्यान्न, बीउ र गाईभैँसीको दानाका रुपमा प्रयोग गरेका छन् । परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ ।
पछिल्लो केही वर्षयता पर्वतको कुश्मा बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेका उहाँको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको श्रेष्ठले बताउनुभयो ।
मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगवाट पीडितले कोदोको परिकार बढी मात्राा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो । कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै क्षेत्रफल समेत बढ्ने केन्द्रको अनुमान रहेको छ ।