प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति छ
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति छ
    • बेल संचार

    • ८ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।

विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन ।

पैत्रिक सम्पत्ति बढ्यो !

२०७३ सालमा प्रधामनन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् ।

२०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका प्रचण्डले अहिले ५ तोला सुनलाई पनि पैतृक नै भनेका छन् ।

साताकाे चर्चित
सम्बन्धित