अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै   
     अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै   
    • बेल संचार

    • १२ जेष्ठ २०८१, शनिबार

बलेवा (बागलुङ), १२ जेठ : जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षदेखि किसानलाई केराका बिरुवामा अनुदान उपलब्ध गराउन थालेपछि यसतर्फ उनीहरुको आकर्षण बढेको छ ।

नगरपालिकाले केराखेत गर्नेे किसानका लागि प्रतिबिरुवा रु २० अनुदान उपलब्ध गराउन थालेपछि स्थानीयले धान फल्ने खेतमा केराखेती गर्न थालेका हुन् । बागलुङ तथा कुश्मा बजारमा कुश्मीशेराका केराको माग बढी हुनाका साथै उत्पादन पनि बढी हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न अनुदान उपलब्ध गराइएको जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले राससलाई बताउनुभयो । यहाँका एक सय किसानलाई अन्य कृषि पेसासहित केराखेतीमा पनि जोडिएको उहाँले जानकारी दिनुभयो ।

जैमिनी–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पु¥याउने चटारो छ । घर पारिको खेतमा केराका बिरुवा लगाउन दैनिक चारजना खेताला परिचालन गरेको उहाँले बताउनुभयो ।

शर्माका अनुसार आठ रोपनी जमिनमा यतिबेला सयौँ केराका बोट छन् । उहाँले २५ रोपनी जमिन रहेको भन्दै बाँकी खेतमा पनि केरा लगाउने योजना बनाएको बताउनुभयो ।

यस वर्ष मात्रै दुई हजार तीन सय ५० केराका बिरुवा लगाएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरु लगाइएका बोटले वर्षेनि आम्दानी दिइरहेका छन् ।

“केही वर्ष अघिसम्म कयौँ दिन लगाएर रोपाइँ गरिने खेत जनशक्तिको अभावमा बाँझै हुन थालेको थियो । अहिले केराका बगैँचा बनेका छन्”, उहाँले भन्नुभयो, “छोराछोरी घरमा छैनन्, खेताला लगाउँदा घाटा नहुने भएकाले केराखेती गर्न लागेको हुँ ।” खेत र पाखाभरि केराको बगान बनाउने योजना रहेको उहाँको भनाइ छ ।

शर्मा मात्रै होइन, यहाँका अधिकांश किसानले धान फल्ने खेतमा केरा लगाउन थालेका छन् । कुश्मीगाउँका धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्णप्रसाद शर्मालगायतले धान रोपाइँ नगरेर केराखेती थाल्नुभएको हो ।

“धान रोप्दा उत्पादनले खेताला नथेग्ने अवस्था भयो । बीउ, मल उस्तै महँगो”, पूर्णप्रसाद शर्माले भन्नुभयो, “वर्षमा एक महिना जति हेरचाह गरे वर्षभरि उत्पादन दिन्छ । खेती गर्न सहज र आम्दानी पनि मनग्ये हुन्छ ।” उहाँका अनुसार केराखेती विस्तारका लागि वडा कार्यालयले प्रोत्साहित पनि गरिरहेको छ । प्राविधिक समस्या भए वडाले सहजीकरण गर्ने उहाँको भनाइ छ ।

केराखेतीबाट यहाँका अधिकांश किसानले वर्षमा रु ५० हजारदेखि रु चार लाखसम्म आम्दानी गरिरहेका कृषि प्राविधिक रवीन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार समुन्द्री सतहबाट छ सय मिटर उचाइमा रहेकाले जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि उपयुक्त स्थान हो ।

‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी–९’ जातका केरा यहाँ सिफारिस गरिएको शर्माले जानकारी दिनुभयो । स्थानीय जातका केरा छिटो नबिग्रने भएको सिफारिस गरिएको उहाँको भनाइ छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि यस क्षेत्रलाई केराको ‘पकेट जोन’ मानेको छ । वडा कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा खण्डमा जोडिएपछि बजारीकरणमा सहज भएको जैमिनी–१ का वडाध्यक्ष आचार्यले बताउनुभयो ।

यहाँको केरा बजारमा प्रतिदर्जनरु एक सय २० देखिरु एक सय ५० सम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् ।

नगरपालिकाले केरा पकेट विस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ सञ्चालन गरेको कृषि प्राविधिक शर्माले जानकारी दिनुभयो । “रु एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्दैछौँ”, उहाँले भन्नुभयो, “सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भइरहेको छ ।”

कृषि प्राविधिक शर्माका अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो जमिनमा किसानले केराखेती बढाइरहेका छन् । आगामी वर्षमा नगरपालिका तथा वडा कार्यालयसँगको सहकार्यमा किसानलाई प्रोत्साहन हुने कार्याक्रम ल्याइने उहाँको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित