म्याग्दी
एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन् । एक दशक अघिसम्म ग्रामीण अर्थतन्त्र विदेशमा दुःख गरी पठाएको विप्रेषणको भरमा धानिएकामा पछिल्ला केही वर्षयता कृषि तथा व्यवसायमार्फत सबल बन्दै जान थालेका हुन् ।
जिल्लामा व्यावसायिक तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित घरबास (होमस्टे), सडकको पहुँच, जडीबुटी तथा वनपैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको हो । सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू, लघुऊर्जा, पर्यटन र व्यापार व्यवसायको जगमा जिल्लाको ग्रामीण जीवनस्तर सकारात्मक दिशातिर अग्रसर हुँदै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
मालिका गाउँपालिका–४ का तिलबहादुर विक १२ वर्षसम्म वैदेशिक रोजगारी गरेर गाउँ फर्केपछि दरबाङ बजारमा फर्निचर उद्योग सञ्चालन गर्नुभयो । अहिले उहाँले अहिले सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख ५० हजार भन्दा बढी बचत गर्दै आउनुभएको छ ।
बेनी नगरपालिका–४ वास्कुनाका ११ वर्षीय तिलक गुरुङ विदेश बसाइलाई अन्त्य गर्दै गाउँ फर्केपछि व्यावसायिक पशुपालन तथा तरकारीखेतीमा लाग्नुभयो । उहाँ अहिले राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित हुनुभएको छ । विगत २३ वर्षदेखि पशुपालन र फलफूल खेतीमा लाग्नुभएका गुरुङले आफ्नै गाउँमा मासिक रु तीन लाख बढी आम्दानी हुने बताउनुभयो । “वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, सहरलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “गाउँको विकासका लागि ग्रामीण परिवेशका उद्यमहरु नै उपयुक्त हुन्छन्, म्याग्दीको सन्दर्भमा पशुपालन, तरकारी र फलफूलखेती ग्रामीण समृद्धिका मुख्य आधार हुन् । उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने हो ।”
विक र गुरुङ यहाँका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा दुई सयभन्दा बढी युवा कृषि तथा पशुपालनमा लागेर व्यवसाय गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । मौरीपालन, डेरी उद्योग, सिलाइकटाइ, गलैँचा उद्योग, माछापालन, टिमुर र आलुखेतीमार्फत यहाँका युवा आयआर्जनसँग जोडिएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका केही व्यक्ति विदेश हुँदा सिकेको सीपमार्फत कृषि, पशुपालन र अन्य काम गरी सफल बन्दै गएका छन् ।
जिल्लाका पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ, बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोटका साथै वनपैदावार र जडीबुटीका लागि चर्चित गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, जलविद्युत् उत्पादनमा चिनिएका नारच्याङ, पिप्ले, भगवती, दग्नामलगायत गाउँमा पछिल्लो पाँच वर्षयता युवा उद्यमी र व्यवसायीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थापाको भनाइ छ । “ग्रामीण अर्थतन्त्र भनेकै कृषि, पशुपालन र साना उद्योग हुन्,” अर्थशास्त्रका जानकार विकल शर्माले भन्नुभयो, “यसको मद्दतमा जिल्लाको ग्रामीण समाजको आयआर्जन बढ्दै गएको छ ।” उहाँले ग्रामीण अर्थतन्त्रका आधारहरूलाई ग्रामीण भेगका युवाले बुझ्न थाल्नु सकारात्मक उपलब्धि भएको बताउनुभयो ।
गाउँलेहरूले बिक्री गरेका वस्तुको आम्दानी बैङ्क तथा वित्तीय संस्थामा जम्मा हुन थालेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताउनुभयो । युवा विदेश नगई स्वदेशमै आयआर्जनमा जोडिँदा ग्रामीण अर्थतन्त्र सबल बन्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको उहाँले बताउनुभयो ।