वैशाख १४ गते स्थानीय निकायको निर्वाचनको प्रस्ताव
वैशाख १४ गते स्थानीय निकायको निर्वाचनको प्रस्ताव

आयोगले गरेको प्रस्ताव र सम्पादन गरेका कामलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले राजनीतिक दलसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने बताएका थिए।

    • Bell Sanchar

    • १० पुष २०७८, शनिबार

निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने बताएको हो।

पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणमा आगामी वेशाख २२ गते बिहीबारका दिन गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराए।

आयोगले गरेको प्रस्ताव र सम्पादन गरेका कामलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले राजनीतिक दलसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने बताएका थिए।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचमा भोटिङ मेशिनको प्रयोग गर्ने सन्दर्भमा कुराकानी भएको थियो। प्रधानमन्त्रीले राजनीतिक दलसँगको छलफलका आधारमा सबै क्षत्रेमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रमा भोटिङ मेशिन प्रयोग गर्दै जाने बताएका थिए।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहको निवार्चनका लागि आयोगले सिफारिस गर्ने र सरकारले मिति तोक्ने व्यवस्था छ। छलफलमा आयोगका पदाधिकारीको सहभागिता थियो।

सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, मुख्यसचिव, गृह र अर्थ सचिवको उपस्थिति थियो।

आयोगका अनुसार आजसम्म कूल पाँच लाख ७७ हजार ६६९ नयाँ मतदाताले आफ्नो नामावली दर्ता गराएका छन्। मतदाता नामावलीमा नाम दर्ता गर्ने समय यही पुस २० गतेसम्म रहेको छ। आगामी जेठ ५ गते स्थानीय तहको पदाधिकारीको पदावधि सकिँदैछ।

साताकाे चर्चित
सम्बन्धित