माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत, के छ प्रतिवेदनमा ?
माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत, के छ प्रतिवेदनमा ?
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र जारी छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । अध्यक्ष दाहालले राजनीति प्रतिवेदन वाचन गरेर प्रस्तुत गर्नुभएको हो । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विषयमा विश्लेषण गर्नु भएको छ । उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।

साथै प्रतिवेदनमा यथास्थितिमा एमसीसी पास नहुने पनि उल्लेख छ । अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुहुनेछ । दाहालको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ । बन्दसत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । अध्यक्ष मण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन रहेका छन् । नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको हो ।

छलफलका क्रममा फरक मत आएमा त्यसलाई समेत समेटेर प्रतिवेदन संशोधनसहित पारित गर्ने तयारी माओवादी केन्द्रको छ । आगामी बिहीबारसम्म चल्ने महाधिवेशनले राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्व चयन गर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित