नारायणहिटी दरबार संग्रहालयमा बन्न लागेको रेष्टुरेन्ट हटाएरै छाड्छु: मन्त्री आले
नारायणहिटी दरबार संग्रहालयमा बन्न लागेको रेष्टुरेन्ट हटाएरै छाड्छु: मन्त्री आले

दरबार संग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए।

    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ।

आज गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन्।

दरबार संग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए।

‘हाम्रो संग्रहालयमा जुन गतिविधि भएको छ। आज पावरमा भएको बेला लिने, भोलि अर्को भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा वातावरण नै धमिलिने अवस्थामा आउँछ। त्यसैले त्यसको संरक्षणको निम्ति चाहे मन्त्रिस्तरीय होस् चाहे क्याबिनेटबाट, यो हामी हटाएरै छाड्छौं’, उनले भने।

आफूहरूले मौखिम रूपमा निर्देशन दिए पनि कुन प्रक्रियाबाट हटाउन मिल्छ त्यसबारे छलफल गरिरहेको उनले बताए।

मन्त्री आलेले नारायणहिटी संग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिएका थिए।

मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ।

समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो। पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार आएपछि चौतर्फी आलोचना भएको थियो।

साताकाे चर्चित
सम्बन्धित