नेपाल बंगलादेश बैंकलाई गाभ्न नबिल बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ। राष्ट्र बैंकले आज यस्तो सहमति दिएको हो । दुई बैंकबीच सहमति भएको दुई महिना पछि राष्ट्र बैंकले यो सहमति दिएको हो । यस अघि नै एनबी बैंकको शेयर कारोबार रोक्का रहेको छ ।
हाल नबिलको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ । नबिलले एनबीलाई ४३ः१०० को अनुपातमा स्वाप रेसियो टुंगो लगाएको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसनपश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुनेछ।
चालु आवको छ महिनामा खुद नाफा नबिलको २ अर्ब १८ करोडभन्दा बढी र एनबीको ८१ करोड हाराहारी रहेको छ। एनबी एक्विजिसनपछि नबिलको खुद नाफा चालु आवको ७ महिनाकै करिब तीन अर्ब रुपैयाँ कायम हुनेछ।
यस्तै, एक्विजिसनपछि नबिलको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब पुग्नेछ।
एनबी बैंक गाभेर एकीकृत कारोबार सुरु गरेपछि नबिलको नेपालभर २४१ शाखा र २९२ एटीएम काउन्टर पुग्नेछ ।