पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण   
    पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण   

सबै पालिकाका तीन÷तीन वडामा एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण कार्य भइरहेको हो ।    

    • बेल संचार

    • २८ जेष्ठ २०७९, शनिबार

बैतडी,
पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले सबै खोप लगाए÷नलगाएका बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको छ । सबै पालिकाका तीन÷तीन वडामा एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण कार्य भइरहेको हो ।

पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरि घरधुरी सर्वेक्षण कार्य थालिएको उहाँले बताउनुभयो ।सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको बारेमा सर्वेक्षण भइरहेको छ । जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध १२ खोप दिने गरिएको छ । प्रमुख भट्टले भन्नुभयो, “पालिकालेहरुले गरेको सर्वेक्षणलाई हामीले सही छ कि छैन भनेर प्रमाणीकरण गरिरहेका छौँ, सर्वेक्षणका क्रममा कुनै बालबालिका छुटेको पाइएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउँछौँ । ”

जेठ मसान्तसम्म सञ्चालन हुने घरधुरी सर्वेक्षण कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, रेडक्रसकर्मीलगायतको सहभागिता रहेको छ । बैतडी जिल्ला २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ । खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने र त्यसपछि स्वास्थ्य कार्यालयले प्रमाणीकरण गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । यो वर्ष असार पहिलो साता पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी छ ।
–––

साताकाे चर्चित
सम्बन्धित