गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै
गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै
    • Bell Sanchar

    • २९ असार २०७९, बुधबार

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दे गुरुको विशेष सम्मान गरी मनाइँदैछ । आजको दिनमा गुरुलाई भेट्ने सम्मान गर्ने र उपहार दिएर मनाइने प्रचलन रहँदै आएको छ ।

विभिन्न पेशाकर्मीहरुले आफ्ना गुरुलाई भेटेर उपहार दिने र आशिर्वाद लिने प्रचलन अझै छ । शैक्षिक संघसंस्थाहरुमा गुरुपूर्णिका विशेष रुपले मनाइन्छ । विद्यार्थी र शिक्षकहरु एक आपसमा भेटघाट गर्ने र शिक्षकले विद्यार्थीलाई आशिर्वाद दिने चलन छ ।

गुरु चेलाको सम्बन्धलाई निकै पवित्र सम्बन्ध मानिन्छ । हिन्दु धर्ममा गुरुको विशेष स्थान छ । द्रोणाचार्य, शुक्राचार्य जस्ता गुरुहरुको विशेष स्थान छ । गुरुको आज्ञापालन गर्ने र गुरुको आशिर्वाद पाउन राजा देखि रंकसम्म प्रयास गर्थे भन्ने धर्मग्रन्थहरुमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित