‘लाइगर’ को ट्रेलर सार्वजनिक कार्यक्रममा विजय देवराकोन्डाले किन लाएका थिए १९९ भारूको चप्पल?
‘लाइगर’ को ट्रेलर सार्वजनिक कार्यक्रममा विजय देवराकोन्डाले किन लाएका थिए १९९ भारूको चप्पल?

विजयलाई ड्रेसको लागि ठूला ब्रान्ड र डिजाइनरहरूले सम्पर्क गरेका थिए। तर उनले आफ्नो छनोटमा लुगा लगाए।

    • Bell Sanchar

    • ९ श्रावण २०७९, सोमबार

दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा ‘लाइगर’ बाट बलिउडमा डेब्यू गर्दैछन्। उनको बलिउड डेब्यू फिल्मप्रति दर्शकहरू निकै उत्साहित देखिएका छन्।

गत बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ कौतूहलता बढेको छ। अभिनेता विजय कालो टिसर्ट, पाइन्ट र १९९ भारतीय रुपैयाँको चप्पल लगाएर ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका थिए।

उनकाे साधारण पहिरनले दर्शकको मात्र होइन, सेलिब्रेटीहरूको पनि ध्यान खिचेको छ। उक्त कार्यक्रममा अभिनेता रणवीर सिंहले भने, ‘भाइको स्टाइल हेर्नुस्, यस्तो लाग्छ मेरो ट्रेलर सार्वजनिक कार्यक्रममा चाहिँ विजय आएको हो।’

विजयलाई ड्रेसको लागि ठूला ब्रान्ड र डिजाइनरहरूले सम्पर्क गरेका थिए। तर उनले आफ्नो छनोटमा लुगा लगाए।

विजयको डिजाइनर हरमनले पिंकभिलासँग कुराकानी गर्दै भनिन्, ‘विजयले मलाई एकदिन बोलाए र चरित्रसँग नजिक भएर साधारण पहिरन लगाउने बताए। उनले चप्पलको बारेमा पनि सोधेका थिए। १९९ रुपैयाँकाे चप्पल लगाउने भन्दा म सुरूमा हिचकिचाएकाे थिएँ। म सधैं विजयको ड्रेसिङ सेन्सप्रति विश्वास गर्छु किनभने मलाई थाहा छ उसले जे लगाए पनि चर्चित बनाउँछ।’

‘मुम्बईमा भएको ठूलो कार्यक्रममा विजयले १९९ रुपैयाँको चप्पल लगाएर हिँड्दा म नर्भस थिएँ। विजय साँच्चै साहसी हो, उसले दर्शकको माया पाउँदा एकदमै खुशी लागेको छ,’ उनले भनिन्।

जगन्नाथ पुरीले निर्देशन गरेको फिल्ममा विजयसँगै अनन्या पाण्डे, राम्या कृष्नन, रोनित रोय, विशु रेड्डी, अली, गेतुप श्रीनुलगायत कलाकारको अभिनय छ। साथै फिल्ममा विश्वविख्यात बक्सर  माइक टाइसनको पनि अभिनय रहेको छ।

फिल्ममा करण जोहर, चर्ममे कौर, अपूर्भा मेहेता लगायतको लगानी रहेको छ। यो फिल्म हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा २५ अगस्टबाट रिलिज हुनेछ।

साताकाे चर्चित
सम्बन्धित