चितवनमा ‘कृष्णलीला’को कन्सर्टमा सेक्युरिटीसहित पुगे पुष्प र श्रद्धा
चितवनमा ‘कृष्णलीला’को कन्सर्टमा सेक्युरिटीसहित पुगे पुष्प र श्रद्धा
    • Bell Sanchar

    • २ भाद्र २०७९, बिहीबार

कृष्णजन्माष्टमी अर्थात् भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्णलीला’को टिमले चितवनको भरतपुरमा कन्सर्ट सम्पन्न गरेको छ।

सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा मंगलबार आयोजना गरिएको कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्णलीला’ का अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनिता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए।

कन्सर्टमा पुष्प र श्रद्धालाई भिडबाट जोगाउन सेक्युरिटीलाई हम्मे हम्मे परेको थियो। हजारौं दर्शकले पुष्प, श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए।

ओएसीस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोसन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरूलाई सम्बोधन गर्दै ‘कृष्णलीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए। त्यसैगरी बुद्धि तामाङ र रविन्द्र झाले दर्शकहरूलाई ‘कृष्णलीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए।

गायक रवि र गायिका सुनिताले ‘अटल बाच गरें’ गाउँदा दर्शकहरू निकै हौसिएका थिए। चितवनबासी दर्शक श्रोताबाट पाएको माया, सम्मान र हौसलाले आफूहरूलाई निकै खुशी लागेको अभिनेता पुष्पले बताए। उनले आफू जहिल्यै चितवन आउँदा पनि निकै माया पाइरहेको स्मरण गरे।

निर्देशक दीपकले दर्शकलाई ‘कृष्णलीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले आफ्नो पहिलो फिल्म भएकाले भरपूर माया र साथको अपेक्षा राखेको बताइन्। साँझ पाँच बजे सुरु भएको कन्सर्टमा ‘कृष्णलीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो।

आरआर फिल्म्स प्रोडक्सनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्। लक्ष्मण सुवेदी लिखित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्रसँगै हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईंलगायत कलाकारको अभिनय छ।

प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मका गीतमा रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी छ। अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा श्री श्रेष्ठको थ्रिल छ।

साताकाे चर्चित
सम्बन्धित