वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने   
  वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने   

विकलाङमित्र समूहका संयोजक नित्रबहादुर देउजाले हाल पाँच कोठाबाट पुनःस्थापना र निःशुल्क उपचारसम्बन्धी सेवा प्रदान गरिने बताउनुभयो ।

    • Bell Sanchar

    • ३० भाद्र २०७९, बिहीबार

कर्णाली, 
अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ ।

विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो । केन्द्रले तत्काल आधारभूत सेवा प्रदान गर्ने र विस्तारै अस्पतालको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालन हुनेछ ।

विकलाङमित्र समूहका संयोजक नित्रबहादुर देउजाले हाल पाँच कोठाबाट पुनःस्थापना र निःशुल्क उपचारसम्बन्धी सेवा प्रदान गरिने बताउनुभयो । “अपाङ्गता भएका बालबालिकाको उपचारमा सहज पहँुच पु¥याउने उद्देश्यले हामी सेवा विस्तार गर्ने क्रममा कर्णाली प्रदेशमा आइपुगेका छौँ”, उहाँले भन्नुभयो, “पुनःस्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवा उपलब्ध गराइनेछ ।”

काभे्रको बनेपामा ३८ वर्षदेखि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको समूहले कर्णालीका विभिन्न स्थानमा पुगेर अपाङ्ता भएका बालबालिकाको उपचार, पुनःस्थापनासम्बन्धी शिविर गर्दै आएको छ । केन्द्रका अनुसार कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या सात हजार आठ सय ४२ रहेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ एक हजार छ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनःस्थापनाको जरुरी देखिएको छ ।

यसैबीच समूहले असोजको पहिलो सातादेखि सुर्खेतका तीन स्थानमा स्वास्थ्य तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । असोज २ गते चिंगाड गाउँपालिकामा रहेको प्राथमिक उपचार केन्द्र, असोज ३ गते भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य केन्द्र छिञ्चु र असोज ४ गते वीरेन्द्रनगर–१ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित