नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै
    • Bell Sanchar

    • १३ माघ २०७९, शुक्रबार

काठमाडौं ।सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा छलफल हुने बताइएको छ।

यस्तै बैठकमा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका हुन् ।

अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए। बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रमलाई समावेश गर्दै लिखित राजनीतिक प्रतिवेदन पनि पेश गरेका छन्।

त्यसमा वर्तमान गठबन्धन निर्माण, कांग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायतका विषय समावेश रहेको उपाध्यक्ष समेत रहेका माओवादी केन्द्रका प्रवक्ता महराले जानकारी दिए।

‘लिखित राजनीतिक प्रतिवेदनमा गठबन्धनको निर्माण, सरकार निर्माण तथा सञ्चालन र कांग्रेसले विश्वासको मत दिएपछिका घटनाक्रमबारे उल्लेख छन्।

ती विषयमा उहाँले बैठकमा संक्षेपमा जानकारी पनि गराउनुभयो,’ महराले भने।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेसले विश्वासको मत दिएपछि नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा छन्।

राजनीतिमा साझा सहमति निर्माण, संविधानको संरक्षण र मिश्रित संसद रहेकाले यसको पूर्ण कार्यकालको सुनिश्चितताका लागि पनि संवैधानिक पदमा शक्ति सन्तुलन आवश्यक रहेको प्रचण्डको बुझाइ छ।

‘संविधानको संरक्षक तथा साझा अभिभावक राष्ट्रिय सहमतिबाटै चयन गर्दा सहज हुन्छ भन्ने मत पार्टीमा छ,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने।

एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमालेलाई दिने र प्रधानमन्त्री र सभामुखमा एमालेले आलोपालो गर्ने सहमति भएको छ।

यो सहमतिको पूर्ण पालना हुने विश्वासमा आफूहरू रहेको एमाले नेताहरूले दाबी गरिरहेका छन्।

सेतोपाटीसँग कुरा गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले भनेका छन्, ‘कांग्रेसले विश्वासको मत दिएर जाल थापेको छ।

तर राष्ट्रपति एमालेको पदाधिकारीबाटै चयन हुन्छ। प्रधानमन्त्री र सभामुख अढाइ वर्षमा हेरफेर हुन्छ। गठबन्धन भत्काउने प्रयास कुनै हालतमा सफल हुँदैन।’

माओवादीले प्रधानमन्त्री पाएपछि सभामुखमा एमालेका देवराज घिमिरे चयन भएका छन्।

राष्ट्रपतिको निर्वाचनमा पनि एमालेसँगको सहमति माओवादी केन्द्रले पालना गर्ने गुरूङले बताए।

बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको थियो।

त्यस्तै यति एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिएका थिए।

साताकाे चर्चित
सम्बन्धित