रास्वपा कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिलेजसरी नबस्ने
रास्वपा कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिलेजसरी नबस्ने
    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टीले कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिलेजसरी केवल समर्थनमात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले अहिलेको अन्योल हटाउने निर्णय गरेको हो ।

‘हामी कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, तर अहिलेजसरी समर्थनमात्रै दिएर चाहिँ नबस्ने भन्ने टुंगोमा पुग्यौं,’ रास्वपा महामन्त्री मुकुल ढकालले भने, ‘आज व्यापक छलफल भयो, अधिकांश साथीहरुको यस्तै राय छ ।’

यसअघि पार्टी सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्लेले सरकारलाई समर्थन दिएर बस्नुको अर्थ नहुने टिप्पणी गरे पनि पार्टीले औपचारिक पोजिसन् भने लिएको थिएन ।

आजको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार बालुवाटारमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

रविले केन्द्रीय सदस्यहरुलाई सोधेका थिए, ‘हामीलाई सरकारमा सहभागी हुन आग्रह आएको छ, साथीहरुको राय के छ ?’

महामन्त्री ढकालले बताए अनुसार केन्द्रीय सदस्यहरुलाई कुनै एउटा पक्षमा बोल्न भन्दा पनि सरकारमा जानु र प्रतिपक्षमा बस्नुका फाइदा बेफाइदा दुवैतर्फ केलाउन आग्रह गरिएको थियो ।

केन्द्रीय सदस्यहरुले सरकारमा जाँदा सुशासन र सेवाप्रवाहमा योगदान गर्न सकिने भए पनि अहिलेको गठबन्धनमा कति काम गर्न सकिएला भनी आशंका गरेका थिए । उनीहरुमध्ये कतिपयले प्रतिपक्षमै बसेर संसदमा भुमिका खेल्दा, अनि देशभरि संगठन बिस्तारमा लाग्दा बढ्ता लाभदायी हुने तर्कमा बढ्ता जोड दिएका थिए ।

‘गृहमन्त्रालय र अर्थमन्त्रालय पाइयो भने सरकारमा जानुपर्छ भनेर बटमलाइन बनाउन सुझाव पनि आएको छ,’ ढकालले सुनाए ।

गृहमा लामिछाने तथा अर्थमा स्वर्णिम वाग्लेको नाम चर्चामा हुनेगर्छ । तर संसदको पहिलो ठूलो दल कांग्रेस र तेस्रो ठूलो दल माओवादी यसका लागि तयार हुने सम्भावना कम छ ।

स्रोतका अनुसार प्रचण्डले लामिछानेलाई लचिलो भएर प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

शुक्रबार बस्ने अर्को बैठकमा पार्टीले सरकारबारे औपचारिक निर्णय लिने बताइएको छ ।

बैठकले विभिन्न विभागहरुका प्रमुख चयन गरेको छ । जसमध्ये वाग्ले अर्थ विभागका प्रमुख छन् ।

आजको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउन संसदीय दललाई निर्देशन दिएको छ । संसदीय दल केही बेरपछि केन्द्रीय कार्यालयमा बस्दै छ ।

साताकाे चर्चित
सम्बन्धित