प्रधानमन्त्री प्रचण्डको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन दलका प्रमुख सचेतकहरूबीच छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन दलका प्रमुख सचेतकहरूबीच छलफल
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।

‘निकै सकारात्मक छलफल भएको छ। संसदको बजेट अधिवेशन जारी छ, संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ मुख्य सचेतक पाण्डेले भने, ‘संसदका विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन।

यिनै विषयमा छलफल भयो। संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौं। छिट्टै निष्कर्षमा पुग्छौँ।’

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए।

साताकाे चर्चित
सम्बन्धित