दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको जुटे लगानी
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको जुटे लगानी
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ ।

निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने छ ।

जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चयकोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि जलविद्युत्को उत्पादन बढाउने र प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए । भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा  वर्षायामको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरे ।

प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिँदै तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्धारित समय र लागतमा निर्माण सम्पन गरी नमूना बनाइनु पर्नेमा जोड दिए ।

कम्पनीका सीईओ भण्डारीले आयोजनाको निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो ।

त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकाले यो आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ ।

हाइड्रोमेकानिकल काम बाँकी छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइन लगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ ।

आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेका छन् । आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ ।

आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुने छ ।

माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् वृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ ।

आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित