नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरे ।

संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि निधिले सुझाव दिए ।

‘आजको समाचारपत्रहरुमा सम्माननीय राष्ट्रपति,  प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं’ उनले भने, ‘यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नुभएको छ अरे भनेर सुनेको छु ।

म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नुभएको छ ।

राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद नै हुन्छ ।

अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन ।

र, त्यहींबाट प्रमाणित नै हुनुपर्दछ ।’नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानसम्मत नै हुने भन्दै त्यसका लागि कुनै परामर्श र छलफल आवश्यक नभएको समेत बताए ।

साताकाे चर्चित
सम्बन्धित