काठमाडौं ।
हराएकी पत्नीको खोजीमा हिंडेको चेन्जारोङले खोलामा नीलो फूल बगाउँछ । भगवानलाई नीलो फूल चढाउनु हुँदैन भन्दै छोरीले रोक्न खोज्छिन् ।
चेन्जारोङ भन्छ, ‘अब नीलो फूल चढ्ने बनाउनुपर्छ ।’ बाबु र छोरीबीचको यो संवाद फिल्म ‘नीरफूल’को बलियो ‘पञ्चलाइन’ हो । नीलो रङको फूललाई लिएर राखिएको यो शीर्षकले नेपाली समाज र राजनीतिमा गहिरो अर्थ बोक्छ ।
निर्देशक फूलमान बलले फिल्ममा २०७२ सालको भूकम्पपछि धादिङको उत्तरी गाउँ रुबीभ्यालीको एक परिवारको त्रासदी पेश गरेका छन् ।
त्यो त्रासदीले उक्त परिवारलाई कसरी अलग गराउँछ र उनीहरु एक हुन कसरी संघर्ष गर्छन् भन्ने केन्द्रीय द्वन्द्व यसमा छ । उसै त भूगोलले ठगेको रुबीभ्यालीमा प्राकृतिक विपत्तिले ल्याउने यो त्रासदीको मूल्य महंगो छ । लामो समय पत्रकारितामा सक्रिय बलले डेब्यु निर्देशनमार्फत समुदायको कथालाई भन्ने प्रयत्न गरेका छन् ।
भूकम्पले अलग बनाएको यो सुखी परिवारबीच अब कहिल्यै मिलन हुन्छ कि हुँदैन ? यो खोजीको यात्रा नीरफूलको केन्द्रीय कथावस्तु हो ।
कमजोर पटकथा, सम्पादन र छायांकनजस्ता फिल्मको आधारभूत पक्षमै समस्या देखिएपछि ‘नीरफूल’ कमजोर बनेको छ । निर्देशक फूलले इमान्दारीपूर्वक प्रयत्न गरेपनि यी तीन पक्ष कमजोर हुँदा दृश्यभाषा, मनोविज्ञान र व्याकरण बलियो हुन सकेको छैन । फिल्मको स्थापनामै समस्या देखिएपछि दर्शक विषयवस्तुको गहिराइमा पुग्न सक्दैनन् । केन्द्रीय द्वन्द्व र चरित्रकरणसँग दर्शक जोडिएनन् भने फिल्मको कथा बलियो भएपनि यसले दर्शकसँग अन्तरक्रिया गर्न सक्दैन ।
नेपाली फिल्ममा पछिल्लो समय समुदायका कथा आउन थालेका छन् । हामीले दयाहाङ राईकै अघिल्लो फिल्म जारीमा लिम्बू समुदायको कथा देख्यौं । नीरफूलले धादिङको उत्तरी भेग रुबीभ्यालीको तामाङ समुदायको कथालाई चित्रण गर्न खोजेको छ । विषयगत रुपमा यो सकारात्मक अवश्य हो । तर नीरफूलले रुबीभ्यालीको तामाङ समुदायको बाह्य पक्षलाई मात्र चित्रण खोजेको छ । दर्शकको नजरबाट हेर्दा समुदायभित्रको अन्य आयामहरु पनि आउन सक्थे ।
पटकथा मात्र होइन सम्पादन र छायांकन पक्ष पनि धेरै ठाउँमा चिप्लिएका छन् । जसले गर्दा कथाको लयमा अवरोध पैदा भएको छ । जसले गर्दा पात्रको सफरिङ, यात्रासँग दर्शक जोडिन सक्दैनन् । मिहिन पक्षमा फिल्म चुक्दा यसले दर्शकीय संवेदनालाई छुन सकेको छैन । संवाद फिल्मको बलियो पक्ष हो । निर्देशक बलले सशक्त र बलिया संवाद पस्किएका छन् । तामाङ समुदायको आञ्चलिकतालाई उनले संवादमार्फत व्यक्त गरे पनि यो पक्षलाई छायांकन र सम्पादनजस्ता कुराले डोर्याउन सकेको छैन ।
अधिकांश संवाद तामाङ भाषामै बोलिएकाले दर्शकले सबटाइटलमार्फत पढ्नुपर्ने हुन्छ । एकातिर समुदायको कथा र अर्कोतिर त्यसलाई सबटाइटलबाट प्रस्तुत गरिने साहस पनि निर्देशकले गरेका छन् । नेपाली भाषाबाटै संवाद लेखिने सुविधा हुँदाहुँदै निर्देशकले तामाङ भाषामार्फत फिल्मलाई समुदायसँग जोड्न चाहेका छन् । नेपाली फिल्म समुदायसँग जोडिन सक्छ र फिल्ममा विविधता चित्रण गर्न नीरफूलले प्रयत्न गरेको अर्थमा यसलाई लिन सकिन्छ । यो हिम्मत चाहिं निर्देशक बलले अवश्य गरेका छन् ।