पाँचथरमा हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता
पाँचथरमा हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

काठमाडौं ।

पाँचथरमा हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् ।

शनिबार राति हेवा खोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना रहेका छन् ।

यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।

बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर,  पूरै विवरण आउन बाँकी रहेको डीएसपी खतिवडाले बताए ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ ।पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए ।

तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ ।फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।

बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित