कर्णालीका अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका बेला चौतर्फी दबाब खेप्नुपरेको बताए
कर्णालीका अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका बेला चौतर्फी दबाब खेप्नुपरेको बताए
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

सुर्खेत ।

कर्णालीका अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका बेला चौतर्फी दबाब खेप्नुपरेको बताएका छन् ।

असार १ गते प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को बजेटबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री सिंहले बजेट तर्जुमाको बेला बिचौलियाहरुले धम्की, दबाब र बार्गेनिङ गरेको बताएका हुन् ।

‘बजेट निर्माणका बेला थुप्रै धम्की, दबाब र बार्गेनिङको प्रयास भयो । हामीले कलरेकर्ड सुरक्षित राखेका छौं ।

समय आयपछि प्रमाणहरु सार्वजानिक गर्छौं’, अर्थमन्त्री सिंहले भने, ‘कुनैपनि दबाव र प्रभावमा नपरी बजेट ल्याएका छौं ।’

अर्थमन्त्री सिंहले बजेट निर्माणका क्रममा आफ्ना योजना समावेश गर्न सरकारी अधिकारीले नै बार्गेनिङ गरेको बताए ।

उनले प्रदेश योजना आयोगका मान्छेहरुबाट पनि बजेट निर्माणका बेला दबाब र बार्गेनिङ भएको आरोप लगाए ।

‘हामीलाई विभिन्न प्रकृतिका म्यासेज, फोन, प्रलोभन र धम्की समेत आए । कतिपयले पैसा बुझ्न आउनुस् समेत भने ।

ती सबै कुराहरुलाई हामीले रेकर्ड गरेर राखेका छौँ । आवश्यकता अनुसार सार्वजनिक गर्नेछौं’, अर्थमन्त्री सिंहले भने ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको भन्दा लामो बिचौलियाको जालो कर्णालीमा रहेको दावी समेत गरे ।

‘केन्द्रमा नक्कली भुटानी शरणार्थी प्रकरणको जालोले हलचल नै ल्यायो ।

त्यो भन्दा ठूलो बिचौलियाको जालो कर्णालीमा रहेछ’, अर्थमन्त्री सिंहले भने, ‘एक ठाउँमा लहरो तान्दा पहरो आउँछ । यसरी राज्यको ढुकुटीमाथि बिचौलियाको प्रवेश चर्को रहेछ ।’

उनले बिचौलियाको जालो तोड्न आफू तयार रहेको भन्दै सबैलाई साथ दिन आग्रह समेत गरे ।

‘बरु म पदमा नरहँदा केही छैन । तर यो बिचौलियाको जालो तोड्न चाहन्छु । सबैलाई साथ दिन आग्रह गर्छु । विस्तारै कानुन, ऐन, नियम अनुसार अगाडि बढ्छु’, सिंहले भने ।

साताकाे चर्चित
सम्बन्धित