पर्यटकको प्रतीक्षामा साल्पापोखरी   
पर्यटकको प्रतीक्षामा साल्पापोखरी   
    • Bell Sanchar

    • ७ असार २०८०, बिहीबार

भोजपुर

साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ ।

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । साल्पापोखरी जाने क्रममा बाटोमा पर्ने भेडेटार डाँडाले मनै फुरुङ बनाउँछ । पूर्वको एक रमणीय पर्यटकीयस्थल भेडेटारबाट पहाडका घुम्ती सडक हँुदै तमोर नदीतर्फ झरेर नदी किनारैकिनार धनकुटा जिल्लाको सदरमुकाम पुग्दा अर्को मनमोहक ठाउँ भेटिन्छ हिले । पाख्रिबास डाँडाबाट देखिने हरियाली दृश्यलाई नियाल्दा रमाइलो अनुभूति हुने गर्दछ ।

तुम्लिङ्टार हुँदै जाँदा तलतिर कलकल बगिररहेको अरुण देख्दा धेरैलाई जीवनको फरक अनुभव लाग्न सक्छ । नदीमा पुल नहुँदा त्यहाँ आइपुगेका यातायातका साधनहरू फेरीबाट वारपार गर्ने गरिन्छ । अरुण वारि र पारि भोजपुर जिल्ला नै पर्दछ । खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट, सुङदेल हुँदै पनि तीन दिनको पैदलयात्रा गर्दै साल्पापोखरी पुग्न सकिने पदमार्ग रहेको छ ।

अरुणमा रहेको झोलुङ्गे पुल तरेर भोजपुरको षडानन्द नगरपालिका, कात्तिके हुँदै कच्ची सडकमा जिपको यात्राको अनुभव पनि बिर्सन सकिंदैन । भोजपुर जिल्लाका गाउँका धेरै खेतबारी र पाखामा रुद्राक्षका बोट प्रसस्त देख्न सकिन्छ । केही वर्षयता रुद्राक्ष यहाँका धेरैको आम्दानीको स्रोत बनेको छ । यो शिवको आँसु मानिन्छ जसको जप गरिन्छ, माला लगाइन्छ र देवीदेवतालाई पनि चढाइन्छ । आबाल ब्रह्मचारी षडानन्द गुरुले नै सुरुमा ती बोट लगाएका थिए भनिन्छ ।

‘जी फाउन्डेसन’ नामक संस्थाले यस क्षेत्रमा सामुदायिक पूर्वाधार विकासका लागि जीविकोपार्जन कार्यक्रममार्फत पर्यापर्यटनको विकास र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गरेको छ । कार्यक्रममार्फत कृषि, करेसाबारी, उद्यमशीलताका कार्यक्रमहरु सञ्चालन गरिएको र यसबाट स्थानीयवासीको जीवनस्तरमा सुधार आएको कार्यक्रमका सीताराम थापा मगरले जानकारी दिनुभयो ।

केन्द्रीय प्रशारणको लाइन विस्तार नभएकाले गाउँपालिकाकाका प्रत्येक घरका धुरीमा सोलार प्यानल राखी सौर्य उज्यालो प्राप्त गरिएको छ । फेदी गाउँका कतिपय महिला उद्यमीहरूले लोक्ताको कपडा, राडी बुनेर आयआर्जन गरेका छन् । उनीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरणमा समस्या रहेको उपाध्यक्ष अस्मिता राईले बताउनुभयो ।

साल्पापोखरी पुग्न फेदी गाउँबाट ठाडो उकालो हिंड्नुपर्छ । ढुङ्गाको सिँढी ठाउँठाउँमा रहेका थुम्काहरूमा पुग्दा फूलहरू मनै हलुका भएजस्तो लाग्दछ । तीन हजार ४३४ मिटर उचाइमा पुग्नु थियो । फेदी गाउँबाट हिँडेको साढे दुई घन्टापछि जौबारीबाट वरिपरिका गाउँबस्तीको रमणीय दृश्य देख्न सकिन्छ । जौबारीमा जौ र आलु राम्रो खेती हुने गर्दछ ।

झन्झन् जति माथि गयो, थकाइलाई वरपरको रोमाञ्चक दृश्यले फुर्तिलो बनाउँछ । वनमा फुलेका लालीगुराँसले मनलाई आनन्दित गराइरहेका थिए, थकाइको अनुभूति नै हुँदैन । उकालो जाँदै गर्दा बाटोमा भेटिने चाँैरीखर्क र लालीगुराँसको दृश्यलाई कैद गर्न क्यामरा र मोवाइल फोनलाई फुर्सदै हुँदैन ।

भोजपुरका प्रमुखको रमाइलो गीत, रमोरम दृश्यको स्वाद लिँदै हिँडिरहँदा माबु भेटिन्छ, जहाँ ‘मुन्दुम पदमार्ग’ जोडिन आइपुग्छ । गाउँपालिकाले जि–फाउण्डेशनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे (घरवास) लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ ।

स्विस सरकार, कोशी प्रदेश सरकार तथा स्थानीय तहमध्ये भोजपुरको टेम्केमैयुङ र साल्पासिलिच्छो गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाले लागत साझेदारी गरेको सो पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाइ’ आकारमा निर्माण भइरहेको छ । भोजपुर र खोटाङको सिमाना तावा भञ्याङ–चखेवा भञ्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैँसीपङखाको साम्पाङ चोकमा आएर टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ ।

कूल ८८ किमिमध्ये हाल ६२ किमी पूरा भइसकेको नेपालको घुम्नैपर्ने सो पदमार्गले खोटाङका केपिलासगढी र साकेला गाउँपालिका छुन्छ जुन किराती सभ्यता झल्काउने एक भौतिक संरचना रहेको रासस भोजपुर भोजपुर नगरपालिका प्रमुख कैलाश आलेले जानकारी दिनुभयो ।

बिहान उठेर माथितिर हेर्दा झुल्के घामसँगै सिलिचुङ चुचुरामा परेको हिउँ देख्दा निकै रमाइलो लाग्दछ । सिलिचुङ डाँडाबाट सगरमाथासँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित