संगीतकार नारायण रायमाझीको अनुभव र आवाज प्रत्यक्ष गुञ्जिने
संगीतकार नारायण रायमाझीको अनुभव र आवाज प्रत्यक्ष गुञ्जिने
    • Bell Sanchar

    • ५ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

अग्रज लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझीको अनुभव र आवाज प्रत्यक्ष गुञ्जिने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यही भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा रायमाझीको एकल साङ्गीतिक साँझ गर्ने भएको हो ।

सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे औपचारिक जानकारी दिइएको हो । रायमाझीले निर्देशन गरेको दशैँमा प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को औपचारिक प्रचारप्रसार पनि सोही साङ्गीतिक साँझको दिनबाट सुरु हुनेछ ।

दोहोरीगीत प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको साङ्गीतिक साँझ आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ यो वर्षबाट साङ्गीतिक साँझ आयोजनाको सुरुवात गर्न लागिएको बताइन् ।

गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठानले गर्न लागेको पहिलो साङ्गीतिक साँझमा आफू छनोटमा पर्नु आफ्नो लागि सौभाग्यको कुरा भएको बताए । यो साङ्गीतिक साँझ रायमाझीको जीवनकै पहिलो एकल साङ्गीतिक साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुवै रहेको धारणा रायमाझीले राखे ।

दिउँसो १ देखि बेलुका ७ बजेसम्म सांगीतिक साँझ संचालन हुनेछ ।

प्रज्ञा प्रतिष्ठानको हलभित्र भिआइपीहरुका लागि प्रत्यक्ष हेर्न र सुन्ने व्यवस्था गरिने र बाहिर चौरमा स्क्रिनमार्फत सर्वसाधारणका लागि हेर्ने र सुन्ने व्यवस्था हुने दोहोरीगीत प्रतिष्ठानले जनाएको छ ।

पाल्पा जिल्लाको साबिकको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ मा वि.सं. २०२० सालमा जन्मिएका रायमाझी लोक गीत सङ्गीतको क्षेत्रमै जीवन समर्पण गर्ने स्रष्टा हुन् ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’मा रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ थुप्रै गीतहरू प्रस्तुत गर्नेछन् ।

साताकाे चर्चित
सम्बन्धित