काठमाडौं ।
सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले ऐतिहासिक सिजा केदारनाथ महोत्सव भब्यरुपमा सम्पन्न भएसंगै सबैलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक संजालमार्फत मेलामा योगदान पुर्याउने सबैलाई धन्यवाद दिएका हुन् । मेला जुम्लामा आइतबारदेखि सुरु भएको थियोे । महोत्सवको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले गरेका थिए ।
साउन पूर्णी, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेला भन्ने मूल नाराका साथ सिंजा गाउॅपालिका ४ बारेगाउॅ नजिकैको केदारनाथ मन्दिरमा महोत्सवको आयोजना गरिएको हो । महोत्सव २ दिनसम्म चलेको थियो ।
महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु राखिएको गाउँपालिका अध्यक्ष धितालले बताए । उनका अनुसार सिमी, राडीपाखीहरु, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्रीसमेत महोत्सवको आकर्षक वस्तु थिए ।
महोत्सवको पहिलो दिन पञ्जेवाजाको प्रस्तुतिसहित स्थानीय झाँकीसमेत प्रदर्शन गरिएको थियो। साथै काठेपिङहरु लगाएर महोत्सवमा रमाइलो गरिएको थियोे ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए। महोत्सवमा रैथानेबालीबाट बनेका परिकार पनि बिक्रीका लागि राखिएको थियो ।
स्थानीय परिकार, खस सस्कृतिको प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस संस्कृतिको नाटक आदि महोत्सवका आकर्षण थिए ।
महोत्सवले ओझेलमा परेको केदारनाथ मन्दिरको उजागर गर्ने सिंजा गाउँपालिका अध्यक्ष धितालले बताए।
केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्त्व छ। तर उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्ने गरेको छ।
महोत्सवले यस स्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ। महोत्सवको अवसरमा खस पात्रोसमेत सार्वजनिक गरिएको थियो।
ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले बृहत महोत्सव गरेको पनि उनले बताए ।महोत्सवमा करिब ५ हजार बढीको सहभागीता रहेको सिँजा गाउँपालिकाले जनाएको छ ।
महोत्सव स्थलमा भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनीतिक दलका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, तीर्थालुहरु, संचारमाध्यमको सहभागिता थियो।
केदारनाथ क्षेत्रको महत्त्व के छ ?
पौराणिक कालमा राजा दक्षप्रजापतिकी छोरी सत्यदेवी थिइन्। उनका पिताये आयोजना गरेको महायज्ञमा महादेव र सतिदेवीलाई नवोलाउँदा यज्ञमा समस्या उत्पन्न भएको थियो । सतिदेवीले अग्निकुण्डामा हामफालेर प्राण त्याग गरेकी थिइन् । उनको शरिरलाई अग्निले जलाउन नसकेपछि महादेवले बोकेर पृथ्वि परिक्रमा गराउने क्रममा यस केदारनाथ क्षेत्रमा सतिदेवीको दाँया र वाँया हात पतन भएको पवित्र शक्ति पिठको रुपमा मानिन्छ। यहि केदार क्षेत्रमा पछि केदारु गाईको रुपमा पार्वती पनि बस्ने गरेको र गोठाला गएका यस क्षेत्रका मानिसले कैलीगाईको रुपमा देवी पार्वतीको दर्शन गर्न पाउने विश्वास रहेको छ ।
यस केदारनाथको पवित्र भूमिमा देवदीदेव महादेवको वास गरेको ठाँउ पनि भनिन्छ । मनवसरोवरको दक्षिण पूर्विक्षेत्रमा रहेको यस ठाँउको पवित्र कुण्ड बुदबुदीमा सबै देवताका भारा नुहाउने गरिन्छ । मानिसहरु शुभकार्यका आर्सिवादका लागि र वरमाग्न केदारनाथमा आउने गर्दछन् । कुनै व्याक्तिले आफनो जीवनकालमा जानि या नजानी गरेको पापलाई मोचन गर्न अर्थात् गौजो काट्न पनि केदारनाथ क्षेत्रमा पुग्ने गर्दछन् ।
काठमाण्डौको मल्यकाल भन्दा पहिलाको इतिहास बोकेको खस साम्राज्य अन्तर्गतको यस क्षेत्रमा रहेको केदारनाथ र बुदबुद्धी नेपालकै धार्मिक महत्वको क्षेत्र रहेको कुरा बुझिन आउँछ। उचित प्रचार प्रसारको अभावमा यो धार्मिक क्षेत्र ओझेलमा परेको थियो । श्रावण शुक्ल एकादशीका दिन भेला भएका खस मस्टोका मूल धामीहरुको सम्मेलनले यो क्षेत्रको वारेमा चर्चा गरेपछि तिव्र महत्वका साथ प्रचारमा आउन थालेको छ ।