कर्णाली प्रदेशको मुगुमा राष्ट्रिय प्रसारण लाइन विद्युत् आपूर्ति पुग्यो
कर्णाली प्रदेशको मुगुमा राष्ट्रिय प्रसारण लाइन विद्युत् आपूर्ति पुग्यो
    • बेल संचार

    • २५ भाद्र २०८०, सोमबार

काठमाडाैं।

कर्णाली प्रदेशको मुगु विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङगरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्‍याएको हो ।

प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन शुरू गरेको छ। प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादनगरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको थियो। मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ ।
अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताए । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताए ।

अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन् । गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो ।

प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो ।  भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो ।

यसैगरी, बाढीपहिरोबाट  विद्युतगृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो ।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

साताकाे चर्चित
सम्बन्धित