प्रधानमन्त्री दाहाल : बालबालिकाको अधिकार तथा हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध
प्रधानमन्त्री दाहाल : बालबालिकाको अधिकार तथा हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध
    • बेल संचार

    • २९ भाद्र २०८०, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान, बालबालिकासम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र सम्वर्द्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपील गर्दछु,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।बाल यौन दुर्व्यवहार, बालबालिका विरूद्धको हिंसा, बाल विवाह, बाल श्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घर परिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनले स्मरण गरेका छन्।

यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोत साधनको विकास गरी क्रियाशील बनाउनुपर्ने उनको भनाइ छ ।

दिवसका अवसरमा उनले सम्पूर्ण बालबालिकाहरूमा उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका आज देशभर ५९औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।

साताकाे चर्चित
सम्बन्धित