प्रचण्डलाई भेटेपछि चिनियाँ समकक्षी ली छ्याङले भने- दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ
प्रचण्डलाई भेटेपछि चिनियाँ समकक्षी ली छ्याङले भने- दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ
    • Bell Sanchar

    • ८ आश्विन २०८०, सोमबार

काठमाडौं

चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको आफूले महसुस गरेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ताअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको आफूले महसुस गरेको बताएका हुन् ।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग पुगेको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍याएको उल्लेख गरे । प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको बताए ।

अहिले प्रधानमन्त्री प्रचण्ड  र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता चलिरहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

वार्तापछि चिनियाँ प्रधानमन्त्री लीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोज आयोजना गर्दै छन ।

राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।

प्रधानमन्त्री दाहालले सोमबार नै बेइजिङस्थित नेसनल पिपल्स कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गरिसकेका छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट दाहाल १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन शनिबार हाङचउ पुगेका थिए । उद्घाटनको साइडलाइनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता भएको थियो। उनी असोज १३ मा स्वदेश फर्कने कार्यक्रम छ । राससको सहयोगमा

 

साताकाे चर्चित
सम्बन्धित