परराष्ट्रमन्त्री साउद : प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल
परराष्ट्रमन्त्री साउद : प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल
    • Bell Sanchar

    • १३ आश्विन २०८०, शनिबार

छन्दु (चीन)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहनुभएका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताउनुभयो ।

चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उहाँले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उहाँको भनाइ थियो ।

“अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ”, उहाँले भन्नुभयो, “दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ ।”

भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उहाँको भनाइ छ । अब नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदको भनाइ छ ।

विसं २०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरु पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उहाँको भनाइ छ ।

त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताउनुभयो ।

चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उहाँको भनाइ छ । यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उहाँको भनाइ छ ।

कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योग धन्दाहरू खोल्नका लागि सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित