क्षयरोग उपचार केन्द्र सञ्चालन  
     क्षयरोग उपचार केन्द्र सञ्चालन  
    • Bell Sanchar

    • २६ आश्विन २०८०, शुक्रबार

 

 

कपिलवस्तु

औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी)का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगीको उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्रको आज उद्घाटन गरिएको हो ।

लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालभर २३ डिआर सेवा ८६ उपकेन्द्र रहेका छन् । “सरकारले सन् २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारिएको छ”, शर्माले भन्नुभयो, “उपचार केन्द्र र उपकेन्द्र गाउँस्तरमा स्थापना गर्ने उद्देश्यले प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको छ ।”

सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताउनुभयो । कपिलवस्तुमा मात्र नभई छिमेकी जिल्लाका बिरामीलाई सहज हुने भएकाले यहाँ केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

अस्पतालका सेवालाई विस्तार गर्दै केही दिनमै २४सै घण्टा सेवा प्रवाह तथा शव परीक्षण गर्ने व्यवस्था मिलाइने थापाले जानकारी दिनुभयो । क्षयरोगका कतिपय बिरामीले समयमा औषधि सेवन नगर्ने गरेको पाइएकाले सबै बिरामीलाई निगरानी गर्नुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताउनुभयो ।

डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा निःशुल्क उपचार हुने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले बताउनुभयो । “क्षयरोगका बिरामीको औषधिले काम गरे÷नगरेको विषयको परीक्षण प्रयोगशालामा हुन्छ”, उहाँले भन्नुभयो, “नियमित औषधिले निको हुने/नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।”

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । तथ्याङ्कमा हेर्दा २०७५/७६ मा सात सय २७, २०७६/७७ मा पाँच सय ८५, २०७७/७८ मा छ सय ३३, २०७७/७८ मा छ सय ३३, २०७८/७९ मा नौ सय र २०७९/८० मा नौ सय १४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित