अब चामल लिन बुटवल पुग्नु पर्दैन      
अब चामल लिन बुटवल पुग्नु पर्दैन      
    • Bell Sanchar

    • १ कार्तिक २०८०, बुधबार

बागलुङ

पश्चिम बागलुङका उच्च ग्रामीण क्षेत्रमा आलु, जौ, उवा, भाँगोबाहेक अरू खेती कमै हुन्छ । तीन दशकसम्म स्थानीयको मुख्य खाना आलु र जौको आटा हुन्थ्यो । चिसो हावापानी हुने भएकाले यहाँको माटोमा धान खेती हुँदैनथ्यो ।

“धान खेती नहुँदा स्थानीय भात खान दसैँ कुर्थे । गाउँमा सडक थिएन । मोटर गाडी देख्नका लागि दुई साता लगाएर बुटवल पुग्नुपथ्र्यो । बुटवल पुगेर घ्यू, आलु र भाँगोसँग चामल साट्ने बाध्यता थियो”, ढोरपाटन–९ की ८३ वर्षीया पदमकली विकले भन्नुभयो । उहाँका अनुसार अहिले गाउँगाउँमा सडक विस्तार भएसँगै चामल भित्रिन थालेकाले बाध्यता हटेको छ । दसैँमा मात्रा भात खाने स्थानीयको भान्छामा अचेल दिनहुँ पाक्ने गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय गाउँगाउँसम्म सडक पुगेपछि घरघरमा चामलका बोरा पुग्छन् । सडकले गाउँमा चामल मात्र ल्याएन, गाउँलेको दैनिकीमा नै परिवर्तन ल्याएको विकले बताउनुभयो । उहाँका अनुसार बागलुङको निसीखोला, ढोरपाटन र तमानखोलाका माथिल्लो क्षेत्रमा बसोबास गर्ने अधिकांशले अहिले पनि बजारबाट चामल ल्याएर भात खान्छन् ।

विकसँग आफ्नो जीवनकालमा १४ पटक बुटवलबाट चामल र नुन ल्याएर उपभोग गरेको अनुभव छ । ढोरपाटनबाट ११ दिनको पैदल यात्रा गरेर बुटवल पुगेको सुनाउँदै आजभोलि गाउँघर नै बुटवल बन्न थालेको उहाँले बताउनुभयो । बेँसीमा पनि धान फल्न थालेपछि चामलको समस्या नहुने उहाँको भनाइ थियो ।

“जुग जमाना फेरिए । गाउँ पनि बजार बन्न थाल्यो । हामीले सानोमा कहिल्यै भात खान पाएनौँ । अल्ली ठूलो भएपछि दसैँमा भात खान पायौँ । अहिले त दिनदिनै भात खान्छौँ । हाम्रो गाउँठाउँमा चामल (धान) फल्दैन । आलु र जौको आटा खाएर हुर्किएका हौँ”, विकले भन्नुभयो, “उतिबेला गाउँ घरमा दोकान थिएन । सडक पनि आएका थिएनन् । अहिले त दिनदिनै गाडीले बजारबाट चामल र अन्य आवश्यक सामान ल्याउँछन् । गाउँको विकास भएकाले नै यो सम्भव भएको हो ।”

स्थानीय निमबहादुर पुनले डेढ दशक अगाडिसम्म पनि आलुसँग चामल साटेर भात खाने गरेको सुनाउनुभयो । पछिल्लो समय गाउँघरसम्म चामल बेच्ने पसल सञ्चालनमा आएपछि कोही पनि स्थानीय भात खानबाट वञ्चित नभएको उहाँको भनाइ थियो । ७४ वर्षीय पुनले आफूहरु निकै दुर्गम ठाउँमा हुँदा बाल्यकालमा भातको निकै महत्व हुने गरेको बताउनुभयो । लेकबेँसी गरेर पशुपालन गरेरै जीविका चलाउँदै आएको सुनाउँदै अहिले एक बोरा आलु बेचेर पनि चामल किन्न सकिने उहाँको भनाइ थियो ।

“हामी त बाउबाजेकै पेसालाई अँगालेर सानैदेखि गाईभैँसी र भेडाबाख्रा पाल्नतिर लागियो । लेकमा बस्ने, आलु र जौको आटा, दूध, मही खाने गरियो । भात खान पाउँदा निकै खुसी लाग्थ्यो । त्यसबेला चामलको निकै महत्व थियो । तर अहिले त्यत्ति छैन”, पुनले भन्नुभयो, “अहिले त हामी लेकमा जाँदा चामल बोकेर जान्छौँ । उता पनि भात पाक्छ । कति बेला त हामीलाई पनि अचम्म लाग्छ, हाम्रो ऊ बेलाको अवस्था सम्झिँदा ।”

बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष क्षेत्रफल बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ ।

जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको केन्द्रले जनाएको छ ।

पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिन बाझिँदै गएका स्थानीय बताउँछन् । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ । मकै र कोदो उत्पादन गर्ने क्षेत्रफल घटे पनि धान उत्पादन भने बढिरहेको ज्ञान केन्द्रले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित