कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह 
कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह 
    • Bell Sanchar

    • २ कार्तिक २०८०, बिहीबार

 (बाँके),

मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गर्नुभएको हो ।

सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिकले आजबाट मालपोत र नापीको काम गराउन कागजपत्र बोकेर नेपालगञ्ज जान पर्दैन ।”

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहजरुपले सेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिनुभयो ।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेदेखि नै नेपालगञ्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्य क्षेत्रमा पर्ने सबै वडाको कामकाज आजदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोहलपुर कार्यक्षेत्र रहेका साविकका गाविसको कामकाज पाँच दिन रोकेर आवश्यक कागजात सबै नेपालगञ्जबाट कोहलपुर ल्याइसकेका छौँ । अब नापी र मालपोतसम्बन्धी कामका लागि कोहलपुर कार्य क्षेत्रभित्रका नागरिक नेपालगञ्ज जानुपर्दैन ।”

मालपोत कार्यालय कोहलपुरका लागि विभिन्न तहका ३३ कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । स्वीकृत दरबन्दीअनुसार एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् । अन्य चार कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको कार्यालयले जनाएको छ ।

नापी र मालपोत कार्यालय कोहलपुरबाट सेवा प्रवाह हुने भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगञ्ज जानुपर्ने अन्त्य भएको छ । दुवै कार्यालयले कोहलपुरमा आवश्यक पर्ने कागजात नेपालगन्ज कार्यालयबाट लगिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित