वन्यजन्तुका कारण स्थानीय किसान पीडित, राहत प्रक्रिया सहज बनाउन माग
वन्यजन्तुका कारण स्थानीय किसान पीडित, राहत प्रक्रिया सहज बनाउन माग
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

बाँके ।

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाका किसानहरू वन्यजन्तुका कारण भोग्नुपरेको समस्यासँगै राहत प्रक्रियाको झन्झटबाट पीडित भएका छन्। टिकुलीपुरकी सीमा केसीले महिनौँअघि बाघले खसी मारेपछि राहतका लागि कागजात बुझाए पनि अझैसम्म सहयोग नपाएको गुनासो गरेकी छन्।सीमा केसीले बाख्रापालनबाट कमाएको आम्दानीले घरखर्च चलाउँदै आएकी थिइन्। उनले भनेकी छन्, “मैले सबै कागजात बुझाएकी छु। तर, राहत पाउन धेरै समय लाग्ने रहेछ। प्रक्रिया छोटो र सहज बनाउन आवश्यक छ।”

सीमा जस्तै सीताराम जैसीले वन्यजन्तु मात्र नभई सुगाले समेत बाली नष्ट गर्ने गरेको गुनासो गरे। उनले भने, “सुगाका बथानले मकै फलाउनै दिँदैनन्। बाली लगाउने जाँगर नै हराइसकेको छ।”पदमी पुनले ऐलानी जग्गा भएका कारण राहत पाउन नसकेको बताए। “राहत पाउन खेतबारी नम्बरी हुनुपर्छ। ऐलानी भएकाले मेरो नोक्सानीमा कुनै राहत पाउन सकेको छैन,” उनले भने। सुगाका बथानले मकै, तोरी, धान सखाप बनाउँदा पनि उनीजस्ता किसान राहतबाट वञ्चित भएका छन्।कचनापुरका विनोद मल्लले बाँदरको बथानले घरभित्रका अन्न, पकाएको खाना र बारीका तरकारी नष्ट गर्ने गरेको बताए। “बाँदर धपाउन घरमै कोही न कोही बस्नुपर्छ, अन्यथा सबै नष्ट हुन्छ,” उनले भने।

सङ्गीताकुमारी थारूले स्यालले कुखुरा खोरबाटै लैजाने गरेपछि कुखुरा पाल्न छाडेको बताइन्। “घर कुरेर बस्दा स्कूल छुट्छ, बाहिर जाँदा वन्यजन्तुको डर हुन्छ,” उनले भनिन्।मनकामना थारूले कागजात जुटाउन र कार्यालय धाउन समय र पैसा दुवै खर्चिनुपर्ने गुनासो गरिन्। “राहत माग्न जति खर्च हुन्छ, त्यो राहतले पनि धान्न सक्दैन,” उनले भनिन्।राप्तीसोनारी–२ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानीयको समस्या समाधान गर्न आफूहरूको ध्यान गएको बताए। उनले राहत प्रक्रियामा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

वन्यजन्तुका कारण हुने क्षति र राहत प्रक्रियाको झन्झटले किसानहरूको जीवनयापन झन् कठिन बनाएको स्थानीयहरूको गुनासो छ। सरकार र सम्बन्धित निकायले राहत प्रक्रिया सहज र प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने माग किसानहरूले गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित