कानुन निर्माणमा तीव्रता दिन साना दलको माग  :संसद बैठक
कानुन निर्माणमा तीव्रता दिन साना दलको माग  :संसद बैठक
    • Bell Sanchar

    • २४ माघ २०८०, बुधबार

काठमाडौँ

कानुन निर्माणलाई तीव्र गतिमा अघि बढाउन सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने अधिकांश सांसदले संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएको धारणा राख्दै चालु अधिवेशनमा कानुन निर्माणमा जोड दिनुभयो ।

उहाँहरुले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका सम्बन्धमा सन्तोषजनक काम हुन नसकेको उल्लेख समेत गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरण र टेरामक्स कार्यान्वयनको विषयबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

केही निश्चित समूह र व्यक्तिको स्वार्थमा कानुन निर्माण हुँदा कार्यान्वयनमा समस्या हुने गरेको उहाँको भनाइ छ । “सार्वजनिक खरिद ऐन, वन ऐनले विकास निर्माणका काम अघि बढ्न दिएन भनेर गुनासो सुनिने गरेको छ । कसैको स्वार्थमा परेर कानुन निर्माण भएका कारण त्यस्ता कानुनले अहिले समस्या दिएको हो”, उहाँले भन्नुभयो । उहाँले कसैलाई निषेध गरेर मुलुक अगाडि नबढ्ने भन्दै सबै मिलेर देशलाई नवीन बाटोमा अगाडि लैजानुपनेृमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले तराई क्षेत्रको जलसतह घट्दै जाँदा पानी अभावका कारण मरुभूमिमा परिणत हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । तराई क्षेत्रमा खेतीबालीका लागि मात्रै नभई पिउने पानीको समेत अभाव देखिन थालेको सांसद अधिकारीले बताउनुभयो । गिट्टी बालुवा उत्खनन हुँदा चुरे क्षेत्र नाश भएको भन्दै उत्खनन रोक्नुपर्ने उहाँको माग छ ।

सरकारले ल्याउने बजेट सन्तुलिन नरहेको भन्दै उहाँले भन्नुभयो, “बजेट सन्तुलित छैन । जहाँ बढी जनसङ्ख्या र छ आवश्यकता छ त्यहाँ बजेट नदिने हो भने सन्तुलित विकास हुन सक्दैन । बजेट विनियोजनमा विभेद हुन हुँदैन ।” उहाँले सङ्घीय कर्मचारी ऐन र प्रहरी ऐन बन्न नसकेको विषय पनि संसद्मा उठाउनुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खांनले संसद्का अघिल्ला दुई अधिवेशनको प्रभावकारी हुन नसकेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भनेर छलफल गरिनुपर्ने बताउनभयो । संसद् जनताप्रति उत्तरदायी हुन नसकेको पनि उहाँको आरोप छ ।

“अघिल्ला दुई अधिवेशनको समीक्षा नगरी अहिले हामी एकअर्कामाथि आरोप प्रत्यारोप लगाइरहेका छौँ । एक–अर्कालाई विभिन्न प्रश्न तेस्र्याउने काम गरिरहेका छौँ । त्यो राम्रो होइन । संसद्मा दलीयरुपमा भन्दा पनि हाम्रो मुलुकको आवश्यकता के हो भनेर हेर्न जरुरी छ । संसद् जनताप्रति उत्तरदायी हुनुप¥यो”, सांसद खानले भन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता सर्वेन्दनाथ सुक्लाले नेपालको जनशक्ति र जलशक्तिको भरपूर उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । “जनशक्ति र जलशक्तिको प्रचुरता भएको हाम्रो देश हो । जनशक्ति दिनानुदिन पलायन भइरहेको अवस्था छ । जलशक्ति पनि बिक्री हुने अनिश्चितताका कारण खेर जाने परिस्थिति थियो । जलशक्ति मुद्रामा परिणत हुन सकेको छैन”, सांसद सुक्लाले भन्नुभयो, “तर पछिल्लो समय नेपाल र भारतबीच नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात खरिद गर्ने गरी सम्झौता भएको छ । यो राम्रो पक्ष हो । यसले मुलुकको विकासको बहुआयामिक विकासको ढोका खोलेको छ ।” नेपाल अहिले अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइनुपर्ने उहाँले बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालविर चौधरीले विभिन्न पूर्वाधार आयोजनाको अनुगमन र निरीक्षणलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । संसद्को चालु अधिवेशन निकै ढिलो गरी मात्र आह्वान भएको बताउनुभयो । चालु आर्थिक वर्षमा विकास निर्माणका लागि विनियोजन बजेट निकै न्यून रहेको तथा विनियोजनमा कुशलता नदेखिएको उहाँको टिप्पणी थियो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्को चालु अधिवेशनबाट देश र जनताको हितमा कानुनहरु बन्ने र संसद्मा उठेका विषयको कार्यान्वयन भए–नभएको बारे प्रभावकारी अनुगमनसमेत हुने विश्वास आफूले लिएको बताउनुभयो । नेपाली जनता पुँजीवादी गणतन्त्रको पक्षमा नभई समाजवादी गणतन्त्रको पक्षमा रहेको उहाँको भनाइ छ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोटलगायतका जिल्लामा विकास पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या उहाँले संसद्मा उठाउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदका विधायिकी भूमिका कमजोर रहेको बताउनुभयो । “संसद्को मुख्य काम नियम कानुन बनाउने हो । तर अहिले सांसद विकासका ‘एजेन्ट’ भएका छौँ । एकातिर हाम्रो काम नियम कानुन बनाउने र अर्कोतर्फ विकास निर्माणका काममा ठेकेदारजस्तो हुनुपर्ने कुरा मिलेको छैन”, उहाँले भन्नुभयो ।

आम जनता पार्टीका सांसद् प्रभु साहले देशको आर्थिक अवस्था भयावह बन्दै गएको बताउनुभयो । त्यस्तै, अहिले विप्रेषण आप्रवाह बढेको र त्यसले अर्थतन्त्रलाई राम्रो गरेको भनेर प्रचार गरिनु गतल रहेको उहाँको भनाइ छ । विगतका वर्षको तुलनामा अहिले विदेश गएको जनशक्ति निकै धेरै रहेको उल्लेख गर्नुहुँदै सांसद साहले अहिले तुलनात्मक रुपमा कम रेमिट्यान्स आइरहेको दाबी गर्नुभयो ।

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले अहिले जनताका समस्याप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित