दुई सयलाई आयोडिनयुक्त नुन सहयोग   
दुई सयलाई आयोडिनयुक्त नुन सहयोग   
    • Bell Sanchar

    • २७ माघ २०८०, शनिबार

सिमकोट

आयोडिनयुक्त नुनको प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई आयोडिन महिनाका रुपमा हुम्लाका स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन सुरुआत गरेका छन् । यो कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सम्बन्धित निकायको रहेकाले जिल्लाको ताँजकोट गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने नाराका साथ ताँजकोटमा रहेका दुई सय जनालाई आयोडिनयुक्त नुन निःशुल्क वितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो ।

गर्भवती, सुत्केरी, किशोरावस्था र अन्य उमेर समूहका नागरिकलाई आयोडिन नुन गाउँपालिकाले वितरण गरेको हो । सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर सङ्ख्या शत्प्रतिशतमा पुर्याउने नीति लिएका कारण प्रत्येक वडाका दुई सय घरधुरीलाई एक–एक प्याकेटका दरले नुन सहयोग गरेर आयोडिनयुक्त नुन प्रयोगका बारेमा जनचेतना फैलाइएको संयोजक ढकालले बताउनुभयो ।

आयोडिनको कमीबाट उत्पन्न हुने विभिन्न शारीरिक एवं मानसिक कमजोरीका विषयमा जनचेतनामूलक कार्यक्रमबाट जानकारी गराइएको उहाँले बताउनुभयो । गाउँपालिका प्राङ्गणमा यहाँका सबै स्थानीयलाई उपस्थित गराएर आयोडिनयुक्त नुनको उचित मात्राको प्रयोगका बारेमा सचेत गराइएको हो ।

आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिह्न अङ्कित नुन प्रयोग गर्न गाउँपालिकाभरिका नागरिकलाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । पाँच वर्षमुनिका बालबालिका, गर्भवती, सुत्केरीका साथै अन्य उमेर समूहका नागरिकलाई उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्न आग्रह गरिएको अध्यक्ष जैसीले बताउनुभयो ।

आयोडिनयुक्त नुनको प्रयोग नगरेमा यसका बेफाइदाका बारेमा अध्यक्ष जैसीले जानकारी गराउनुभएको थियो । साथै यसको प्रयोग गर्न आग्रह गर्दै आयोडिन नुन अध्यक्ष जैसीले सहयोग हस्तान्तरण गर्नुभएको हो । आयोडिनयुक्त नुनको महत्वबारे जनचेतना जगाउन फेब्रुअरी भर कार्यक्रम सञ्चालन गरीने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले बताउनुभयो । आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएका सामग्री लिएर महिला स्वयमसेविका, स्वास्थ्यकर्मी परिचालन गरिएको अधिकृत श्याङ्कुले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित