बेलायती राजदू : नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ
बेलायती राजदू : नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ
    • Bell Sanchar

    • १५ चैत्र २०८०, बिहीबार

काठमाडौं ।

आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ ।

नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउने जानकारी दिएका हुन् ।

राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा गरे । दोहोरो कर प्रणाली सम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न उनले अर्थमन्त्री पुनसँग आग्रह गरेका थिए ।

राजदूत फेनले लगानी सम्मेलन सफल पार्न आफूले काठमाडौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरूसँग पनि छलफल र समन्वय गरिरहेको जानकारी समेत दिए । ‘बेलायती लगानीकर्ताको उच्चस्तरीय टोली लगानी सम्मेलनमा आउँदैछ’, उनले भने, ‘हामी लगानी सम्मेलन सफल पार्न सक्रिय भएर लागेका छौं ।’

राजदूत फेनले नेपालको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासबाट वञ्चित समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । राजदूत फेनले फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे-लिस्टमा पर्नबाट बच्न नेपालले गरिरहेको प्रयासको पनि सराहना गरे ।

मन्त्री पुनले बेलायत नेपालको पुरानो मित्र र महत्त्वपूर्ण वैदेशिक साझेदार चर्चा गर्दै हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । काठमाडौंस्थित बेलायती दूतावासले लगानी सम्मेलन सफल पार्न खेलेको भूमिकाको पनि उनले सराहना गरे ।

अर्थमन्त्री पुनले नेपालले वैदेशिक लगानीलाई स्वागत गर्ने नीति लिएको जानकारी गराउँदै दोहोरो कर प्रणालीसहित अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाल सम्बोधन गरिने उल्लेख गरे ।

वैदेशिक लगानीको वातावरण बनाउन एक दर्जन बढी कानुन संशोधनको प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो । मन्त्री पुनले बेलायतले नेपालमा गर्दै आएको लगानी बढाउने सरकारले अपेक्षा लिएको बताए । जवाफमा राजदूत फेनले त्यसका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै उनले गत फागुनमा नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा नेपाल आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल हेर्ने मन्त्री एन्ड्रयु मिचेलले घोषणा गरेको सहयोग कार्यान्वनको चरणमा रहेको पनि जानकारी दिए ।

मिचेलले गत ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा बेलायतका तर्फबाट नयाँ विकास पोर्टफोलियोमार्फत नेपाललाई आगामी ६ वर्षभित्र ६६ अर्ब ६० करोड रुपैयाँ (४० करोड पाउन्ड) अनुदान दिने प्रतिबद्धता जनाएका थिए ।

सन् २०३० सम्म कार्यान्वयन हुने उक्त रकम नेपालले जलवायु परिवर्तनका संकटसँग जुध्न, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा खर्च गर्नेछ । उक्त रकमबाट १३ हजार ५०० रोजगारी सिर्जना हुने तथा २० लाख महिला र बालबालिकाको गुणस्तरीय स्वास्थ्य र शिक्षामा पहुँच पुग्ने अपेक्षा दुवै देशको छ ।

साताकाे चर्चित
सम्बन्धित