सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिनुहुँदै   
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिनुहुँदै   
    • Bell Sanchar

    • २० चैत्र २०८०, मंगलवार

सुदूरपश्चिम, 

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिव देवहादुर बोगटीले भन्नुभयो, “मुख्यमन्त्रीले यही चैत २२ गते बिहीबार अपराह्न ३ बजे बस्ने बैठकमा विश्वासको मत लिनुहुने भएको छ, त्यसअघि भोलि चैत २१ गते कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ ।”

केन्द्रमा फेरिएको समीकरणसँगै प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ मा मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।

सुदूरपश्चिम प्रदेशसभामा रहेका नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पु¥याउने रणनीतिमा मुख्यमन्त्री रहनुभएको छ । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा चर्किएको विवादले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस छ । सो पार्टीको सहयोगबिना नयाँ गठबन्धनका पक्षमा पनि बहुमत जुट्दैन ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधरले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन प्रदेशसभा, संसदीय दलका नेतालाई यसअघि निर्देशन दिइसकेको थियो । सो पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरी भने ससंदीय दलको निर्णयअनुसार मुख्यमन्त्री शाह नेतृत्वको अहिलेको सरकारलाई नै आफूहरुको समर्थन रहेको बताउँदै आउनुभएको छ ।

सो पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । माओवादी—एमालेसहितको केन्द्रको नयाँ समीकरणअनुसार प्रदेश तहमा पनि नागरिक उन्मुक्ति पार्टी सम्मिलित भएमा नयाँ सरकार गठनमा सजिलै बहुमत पुग्छ ।

प्रदेशसभाको यस्तो गणितमा प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति निर्णायक देखिएको छ ।

पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सङ्घ र प्रदेश तहका सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा उत्पन्न मतभेदले किचलो बढ्दै गएको छ । विवाद चर्किंदै जाँदा सोमबार मात्रै अध्यक्षद्वारा हस्ताक्षरित पार्टीका पत्रमा पार्टीका गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपकबहादु योञ्जन तामाङलाई पदमुक्त गरिएको उल्लेख छ । पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यको बैठक चलिरहेको अवस्थमा रामलाल डगौराथारू र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरिएको उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । एक पद रिक्त छ । रिक्त बझाङको प्रदेशसभा सदस्यका पदका लागि आगामी वैशाखमा निर्वाचन हुँदैछ ।

साताकाे चर्चित
सम्बन्धित