अनुदानमा कृषकलाई गोलासहितको मौरीघार   
     अनुदानमा कृषकलाई गोलासहितको मौरीघार   
    • Bell Sanchar

    • २२ चैत्र २०८०, बिहीबार

रुकुमपश्चिम । 

कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।

जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक कृषकलाई एक÷एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो ।

साथै टोपी, कुइँगेट र पञ्जा ७०÷७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गोलासहितको घारलाई रु नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ ।

आठबिसकोट नगरपालिका–११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताउनुभयो । अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विजियोजन गरेको जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित