नेपालमा बालबालिकाको क्यान्सर उपचारका लागि निःशुल्क औषधि प्राप्त
नेपालमा बालबालिकाको क्यान्सर उपचारका लागि निःशुल्क औषधि प्राप्त
    • बेल संचार

    • ५ फाल्गुन २०८१, सोमबार

काठमाडौँ ।

नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ कार्यक्रमअन्तर्गत क्यान्सरपीडित बालबालिकाका लागि पहिलो चरणको औषधि प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, पहिलो चरणमा १० प्रकारका औषधिहरू ल्याइएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपाल कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरेर यी औषधिहरू खरिद गरेको हो। नेपाललाई निःशुल्क उपलब्ध गराइएको २,३०० भन्दा बढी प्याकेज औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकालाई निःशुल्क प्रदान गरिनेछ।

नेपालमा प्रत्येक वर्ष करिब ९०० नयाँ बालबालिकामा क्यान्सर देखिने गरेको छ। औषधिको अभाव र अन्य चुनौतीका कारण करिब एकतिहाइ बालबालिकाले मात्र उचित उपचार पाउने अवस्था रहेको छ।

सन् २०२० मा नेपाल डब्लुएचओको ‘ग्लोबल इनिसिएटिभ अफ चाइल्डहुड क्यान्सर’ प्राथमिकतामा परेको थियो। सन् २०२२ मा नेपाल विश्वभरका छ देशमध्ये एकका रूपमा ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ मा सहभागी हुन छनोट भएको थियो।

स्वास्थ्य मन्त्रालयले सन् २०२४ को मार्चमा उक्त कार्यक्रम सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ। सहमतिअनुसार, नेपालले आगामी पाँच वर्षसम्म ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधि निःशुल्क प्राप्त गर्नेछ।

डब्लुएचओका अनुसार हाल नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना ३० प्रतिशतभन्दा कम छ, जबकि उच्च आय भएका देशहरूमा यो दर ८० प्रतिशतभन्दा बढी छ। नयाँ कार्यक्रमले नेपालमा बालबालिकाको क्यान्सर उपचारमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित