जुम्ला,
सिँजा गाउँपालिकामा प्रत्येक स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीको टोली मासिक रूपमा विभिन्न टोलहरूमा पुगेर बच्चाहरूको वृद्धि अनुगमन गरिरहेका छन्।
प्लान इन्टरनेशनल नेपालको साझेदारी, पेस नेपालको सहकार्य, र सिँजा गाउँपालिकाको आयोजनामा सञ्चालन भएको यस कार्यक्रम अन्तर्गत सुनौला हजार दिनका आमा र दुई वर्षमुनिका बच्चाहरूलाई सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ।
स्वास्थ्य शाखा प्रमुख ललि रोकायाका अनुसार कार्यक्रम अन्तर्गत लुगा धुने साबुन, नुहाउने साबुन, तेल, नेल कटर, टोपी, मोजा, रुमाल लगायत १५ प्रकारका सामग्री आवश्यकता अनुसार प्रत्येक व्यक्तिलाई सम्मानस्वरूप वितरण गरिएको छ।
सिँजा गाउँपालिकाभित्रका वडा नम्बर १ देखि ६ सम्मका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने लक्ष्यसहित मासिक रूपमा बच्चाहरूको तौल लिने कार्य भइरहेको प्रमुख रोकायाले बताए।
धापा स्वास्थ्य चौकीको रिपोर्ट अनुसार ४७ जना बच्चाको पोषण वृद्धि अनुगमन गर्दा ७ जना जोखिममा र १ जना अति जोखिममा देखिएका छन्। आधारभूत स्वास्थ्य केन्द्र विष्टवाडामा ३३ जनाको परीक्षणमा १ जना जोखिममा रहेको पाइएको छ। नराकोट स्वास्थ्य चौकीमा ४२ जनाको नापतौल गर्दा १ जना जोखिममा देखिएको छ।
त्यस्तै, आधारभूत स्वास्थ्य केन्द्र देविडाँडामा ४५ जनाको नापतौल गर्दा ४ जना जोखिममा देखिएका छन् भने शनिगाउँ स्वास्थ्य चौकीमा ५८ जनाको नापतौल गर्दा ५ जना जोखिममा रहेको पाइएको छ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र दाँतमा ६१ जना बच्चाको नापतौल गर्दा ३ जना अति जोखिममा र ४ जना जोखिममा रहेको विभिन्न स्वास्थ्य संस्थाका इन्चार्जहरूले जानकारी दिएका छन्।
स्वास्थ्यकर्मी घरमै आएर छोरी स्वस्तिका बुढाको नापतौल गर्दा कुनै समस्या नदेखिएको र राम्रो रिपोर्ट आएपछि आफू अत्यन्त खुशी भएको सुनौला हजार दिनकी आमा मायादेवीले बताइन्।
स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको उल्लेख गर्दै सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न कदमहरू चालिएको बताए। उनका अनुसार
स्वास्थ्यकर्मीहरूले गाउँमै आएर बच्चाहरूको नापतौल गर्नुका साथै सरसफाइका सामग्री वितरण गर्नु गाउँलेहरूका लागि सहज भएको स्थानीयवासी उमेश बुढाले बताए। पहिला टाढा जानुपर्ने बाध्यता रहे पनि अहिले गाउँमै सेवा पाउँदा खुशी लागेको उनले बताए।
बच्चा जन्मेपछि २३ महिनासम्म वृद्धि अनुगमन गर्दै पोषण परामर्श प्रदान गर्ने कार्य स्वास्थ्य संस्थाहरूले गरिरहेका छन्। सिँजा गाउँपालिका स्वास्थ्य शाखाले २०८२ जेठ महिनासम्म वृद्धि अनुगमन कार्यक्रमको औपचारिक घोषणा गर्ने लक्ष्य राखेको छ।