महाशिवरात्रि विशेष : पशुपतिका चारै ढोका खुले, बिहानैदेखि भक्तजनको घुइँचो
महाशिवरात्रि विशेष : पशुपतिका चारै ढोका खुले, बिहानैदेखि भक्तजनको घुइँचो
    • बेल संचार

    • १४ फाल्गुन २०८१, बुधबार

काठमाडौं

आज देशभर धूमधामका साथ महाशिवरात्रि पर्व मनाइँदैछ। आराध्यदेव भगवान् शिवको पूजा-अर्चना गर्न देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ। विशेष गरी पशुपतिनाथ मन्दिरमा रातिदेखि नै भक्तहरूको आगमन सुरु भइसकेको छ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वलाई धर्मशास्त्रहरूमा अत्यन्त पवित्र मानिन्छ। शास्त्रीय मान्यताअनुसार यस रात भगवान् शिव प्रकट भएकाले यो दिन शिव उपासना गर्नाले लौकिक जीवनमा सुख-शान्ति र परलोकमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान २ बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएका छन्। बिहानैदेखि हजारौँ श्रद्धालु पूजा, आराधना र दर्शन गर्न लामबद्ध भइसकेका छन्।

विशेष सुरक्षा र व्यवस्थापन

यस अवसरमा पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तैनाथ गरिएको छ। साथसाथै कोषकै सुरक्षा टोलीले पनि अनुगमन गरिरहेको छ।

दर्शनार्थीको सुविधाका लागि विभिन्न सामाजिक तथा धार्मिक संघसंस्था परिचालित छन्। नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब तथा धार्मिक संस्थाका स्वयंसेवकहरू भक्तजनको सहयोगमा खटिएका छन्। साथै, स्वास्थ्य आपत्कालीन सेवाका लागि अस्पतालहरूमा बेड सुरक्षित राखिएको छ भने एम्बुलेन्स, औषधि र चिकित्सकहरू तयारी अवस्थामा छन्।

भक्तजन र साधुसन्तका लागि विशेष व्यवस्था

साधुसन्तहरूका लागि पशुपति परिसरको धर्मशालामा बसोबासको व्यवस्था मिलाइएको छ। साथै, तिलगङ्गा, हंशमण्डप, वनकाली लगायतका स्थानहरूमा निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको छ।

यस वर्ष पशुपतिनाथ मन्दिरलाई विशेष रूपमा सिँगारिएको छ। दर्शनार्थीहरूका लागि चन्दन वितरण र अन्य सेवाहरू व्यवस्थित गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित