तुलसीपुरमा प्रयोग नहुँदै जीर्ण बनेको खानेपानी ट्याङ्की
तुलसीपुरमा प्रयोग नहुँदै जीर्ण बनेको खानेपानी ट्याङ्की
    • बेल संचार

    • १६ फाल्गुन २०८१, शुक्रबार

दाङ ।

तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ। पाँच वर्षअघि निर्माण पूरा भएको उक्त ट्याङ्की प्रयोगमा नै नआई जीर्ण बनेको हो। ७५ लाख रुपैयाँ लागतमा ट्याङ्की निर्माण गरिएको थियो।

जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बनाएको डेढ लाख लिटर क्षमताको उक्त ट्याङ्कीमा न त कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिकै पानीका मुहान नै छन्। स्थानीय देवराज वलीले भने, “हामी ट्याङ्की निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमा नआएपछि झनै अच्चमित भएका छौँ।”

मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा निर्माण भएको उक्त खानेपानी ट्याङ्कीमा केही दिन पानी तानिएको भए पनि वर्षात्को समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए। उनले भने, “हामीले केही समय पानी ट्याङ्कीमा राख्यौँ, तर लामो समयसम्म पानी ल्याउन सकिएन।” धमधमेबाट पानी ल्याउने विषयमा छलफल भए पनि स्थानीयले नमानेका कारण समस्या भएको उनले बताए।

खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्याङ्कीलाई काम लगाउन नसकिने उल्लेख छ। सचिव राकेश बस्नेतले सभामा पेश गरेको प्रतिवेदनमा ट्याङ्कीमा पानी लैजान सकिने अवस्था नरहेको बताइएको छ। स्थानीयले अबको दिनमा ट्याङ्की पुनः प्रयोगमा ल्याउनका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने माग गरेका छन्।

 

साताकाे चर्चित
सम्बन्धित