विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका महिलाहरू सालको पातबाट दुनाटपरी बनाएर आम्दानी गर्न थालेका छन्। घर खर्चमा सहयोग पुग्ने आशामा स्थानीय महिलाहरूले वनमा खेर गएका सालका पात संकलन गरी दुनाटपरी उत्पादन गर्न थालेका हुन्।
६१ वर्षीया धनिसरा सिञ्जालीले आफ्नै सीपलाई जीविकोपार्जनको माध्यम बनाउँदै दुनाटपरी बनाउने काम थालेकी छिन्। “वृद्ध उमेर भए पनि घर खर्चमा केही सहयोग होस् भन्ने आशाले यो काम थालेकी हुँ,” उनले भनिन्, “आफ्नो औषधिमुलो गर्नका लागि भए पनि खर्च जुट्ने आशा छ।”
बगुवनकै केसरी सिञ्जालीले पनि घरको आर्थिक अवस्था कमजोर भएकाले दुनाटपरी बनाउन थालेको बताइन्। “नुनतेलको जोहो गर्न सकिन्छ कि भनेर यो काम थालेकी हुँ,” उनले भनिन्।
चारैतिरबाट नदी र जङ्गलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोतको अभाव छ। स्थानीय महिला ज्याला मजदुरी र कृषि कर्मबाट फुर्सदको समयमा दुनाटपरी बनाउन व्यस्त हुने गरेका छन्। उनीहरू वनबाट सालको पात संकलन गरेर लाफा बनाएर घाममा सुकाउने गर्छन्।
एक सयवटा दुनाटपरीको एक मुठा रु १५० मा बिक्री हुने गरेको छ। महिलाहरूले वनमा खेर गएका पातलाई संकलन गरेर आम्दानीको स्रोत बनाएका छन्।
विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन कार्यक्रमसँग जोडेर स्थानीय महिलालाई रोजगारी दिने योजना बनाएको छ। “स्थानीय स्रोतलाई उपयोग गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने योजना बनाएका छौँ,” गाउँपालिका अध्यक्ष घनश्याम गिरीले भने।
विनयी जैविक मल उत्पादन उद्योग सञ्चालनमा आइसकेपछि महिलाहरूलाई थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।