इलाम अस्पतालमा स्वास्थ्य बिमा औषधि अनिवार्य हुने
इलाम अस्पतालमा स्वास्थ्य बिमा औषधि अनिवार्य हुने
    • बेल संचार

    • १८ फाल्गुन २०८१, आईतवार

इलाम ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ले अस्पतालमा स्वास्थ्य बिमाका औषधि नभएको भन्दै बहाना गर्न नपाइने बताएका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डले तोकिएका ९८ प्रकारका औषधि अनिवार्य रूपमा अस्पतालमा राख्नुपर्ने निर्देशन दिएका हुन्।

उनले भने, “अब अस्पतालमा औषधि छैन भन्ने कुरा गैरकानुनी हुनेछ। तोकिएका औषधि अस्पतालले अनिवार्य रूपमा राख्नैपर्छ।”

मन्त्री पौडेलले स्वास्थ्य बिमाको व्यवस्थापनमा केही समस्या भए पनि सुधार प्रक्रिया अगाडि बढाइएको बताए। चिकित्सकले लेखेका औषधि अस्पतालमा नपाएर पन्छिन नपाउने र अनिवार्य रूपमा बिमाका औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था लागू गरिने उनले बताए।

इलाम अस्पतालका प्रमुख डा. प्रभु शाह ले अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको अभाव रहेको गुनासो गरे। मन्त्री पौडेलले दुर्गममा चिकित्सक जान नचाहने प्रवृत्तिका कारण यस्तो समस्या देखिएको बताउँदै अब सरकारले जहाँ खटाएको छ, त्यहीँ जानुपर्ने अनिवार्य व्यवस्था मिलाइने बताए।

स्वास्थ्य मन्त्रालयले जिल्लास्थित अस्पतालहरूको स्तरोन्नति गर्न प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले जानकारी दिए। उनले अस्पताल र स्वास्थ्य चौकीहरूले आवश्यक पूर्वाधार र उपकरणका लागि मन्त्रालयमा माग पेश गर्न आग्रह गरे।

उनले भने, “स्वास्थ्य चौकीमा एमआरआई र सिटी स्क्यानको माग गर्नु उचित हुँदैन। आवश्यकतानुसार मात्र माग गर्नुपर्छ, सरकारले प्राथमिकताका आधारमा सम्बोधन गर्छ।”

स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहले एउटै नीति अवलम्बन गर्नुपर्ने मन्त्री पौडेलले बताए। फरक-फरक नीति बनाएर स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम हुन नसक्ने भन्दै उनले समन्वयकारी नीति आवश्यक रहेको धारणा राखे।

इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा ले मन्त्री पौडेललाई अस्पतालको भौतिक संरचना, औजार र जनशक्ति अभावका विषयमा लिखित ज्ञापनपत्र बुझाएका छन्। जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई ले इलाम अस्पताललाई सय शय्याको अस्पतालमा स्तरोन्नति गर्नुपर्ने माग गरेका छन्।

मन्त्री पौडेलले अस्पतालको क्षमता विकासका लागि संघीय र प्रदेश सरकारले समन्वय गरेर पहल गर्ने आश्वासन दिए।

साताकाे चर्चित
सम्बन्धित