नेपालमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
नेपालमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
    • बेल संचार

    • २४ फाल्गुन २०८१, शनिबार

काठमाडौँ ।

नेपालमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ शनिबार उक्त दिवस मनाइएको हो। सरकार, सरोकारवाला निकायहरू तथा विभिन्न महिला संगठनहरूले यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरेको थियो। सो कार्यक्रममा मन्त्रालयका मन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकाका लागि समान अवसर, आर्थिक सशक्तीकरण तथा स्रोत साधनमा पहुँच आवश्यक रहेको बताए। उनले सरकारले विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य तथा समतामूलक समाज निर्माण गर्ने नीति लिए पनि व्यवहारमा अझै पनि विभेद कायम रहेको उल्लेख गरे।

त्यस्तै, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणा मगरले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणका लागि महिला र पुरुषबीच समान अधिकार हुनुपर्ने धारणा राखिन्। उनले महिलाहरू एकताबद्ध भई आफ्ना हकअधिकारका लागि संघर्ष गर्नुपर्ने बताइन्।

सन् १९७५ देखि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेको हो। पहिलो महिला दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ रहेको थियो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। त्यसयता महिलाहरूले आफ्ना हक अधिकार प्राप्त गर्न गरेको संघर्षको स्मरणमा यो दिवस विश्वभर मनाइँदै आइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित