पर्यटनसँगै बढ्दो इलामको कोसेली व्यापार
पर्यटनसँगै बढ्दो इलामको कोसेली व्यापार
    • बेल संचार

    • २५ फाल्गुन २०८१, आईतवार

इलाम ।

सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हुन्। गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।

कन्यामको चियाबारीमा फोटो र भिडियो खिचेपछि चिसो मौसमको आनन्द लिँदै पर्यटक श्रीअन्तु पुग्छन्। त्यहाँ पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने उनीहरूको सामान्य यात्रा तालिका हुन्छ। तर, इलाम भ्रमणपछि पर्यटक रित्तो हात घर फर्कँदैनन्। अधिकांश पर्यटक नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्ने गर्छन्।

दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप, बम्बइसन, चिया र अकबरे खुर्सानी पर्यटकले कोसेलीका रूपमा लैजाने गरेका छन्। “कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्,” चितवनबाट आएका रोशन सापकोटाले भने, “ललिपप नलिई नआउनु भनेका छन्। अहिले नै छ हजार रुपैयाँको किनिसकेँ, जुन हेर्यो, त्यहीँ लैजानु जस्तो लाग्छ।”

फिक्कल बजारमा कोसेली सामान बिक्रीका लागि लहरै पसलहरू छन्। एउटा पसलले दैनिक पाँचदेखि १० हजार रुपैयाँसम्म कारोबार गर्ने गर्छ। फिक्कलमा सयभन्दा बढी कोसेली पसल खुलेका छन्। “हिजो नौ हजारको बिक्री भयो। कुनै दिन चार–पाँच हजारको मात्रै हुन्छ। सिजन सुरु हुँदैछ। पोहोर त सिजनमा दिनकै ३० हजारसम्म बेचेको,” स्थानीय व्यवसायी सुजन सापकोटाले बताए।

यहाँ आउने पर्यटक खाली हात फर्कँदैनन्। स्थानीय व्यापारीहरूका अनुसार, इलामको भ्रमण चिया बगानमा फोटो खिचेर मात्र पूरा हुँदैन, कोसेली लैजानु अनिवार्यजस्तै बनेको छ। “फिक्कलमा सबैभन्दा बढी बिक्री हुने कोसेली वस्तु नै ललिपप, छुर्पी, बम्बइसन, र चिया हुन्। कुनै पनि पसल खाली हुँदैन,” व्यापारी अमीर आचार्यले बताए।

काठमाडौँमा व्यवसाय गरिरहेका दीपक खड्काले इलामबाट चिनजानका कोही आए कोसेली मगाउने गरेको बताए। “छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्,” उनले भने, “इलामको ललिपप र छुर्पी नमगाई हुँदैन।”

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले इलामको घरेलु उद्योगलाई मजबुत बनाएको छ। अचेल गाउँगाउँमा यी मिठाइ उत्पादन हुन थालेका छन्। सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाका अनुसार, यी उत्पादनहरू ‘इलाम ब्रान्ड’ का रूपमा स्थापित भइरहेका छन्।

जिल्लामा करिब दुई दर्जन ललिपप उद्योग सञ्चालनमा छन्। यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाडौँ, भारत र अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउँछन्। सानो प्याकेट ललिपपको खुद्रा मूल्य ५० रुपैयाँ र ठूलो १०० रुपैयाँमा बिक्री हुँदै आएको छ। विशेष उपहारका लागि कलात्मक प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’ पनि बजारमा पाइन्छ।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध सङ्कलन गर्छन्। स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध बिक्री हुने गरेको छ भने छुर्पी बनाउने उद्योगले १५ हजार लिटर खपत गर्छ। ललिपप, बम्बइसनजस्ता मिठाइ उद्योगले पाँच हजार लिटर दूध प्रयोग गर्छन् भने भारतीय बजारमा तीन हजार लिटर दूध निर्यात हुने गरेको छ।

सरकारी तथ्याङ्कअनुसार, इलाममा १८ चिज कारखाना, करिब १५० छुर्पी बनाउने उद्योग र १३ दुग्धजन्य मिठाइ उद्योग छन्। वार्षिक रूपमा इलाममा १ लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। यहाँ होलिस्टिन र जर्सी जातका ३३ हजार ३७१ उन्नत गाई पालिएको छ।

इलामको पर्यटनसँगै स्थानीय उत्पादनको व्यापारसमेत फस्टाउँदै गएको छ। कोसेलीको उच्च मागले स्थानीय उद्यमीहरूलाई आर्थिक रूपमा सबल बनाउँदै लगेको छ।

साताकाे चर्चित
सम्बन्धित