सिँजामा २७३ जनाले निःशुल्क स्वास्थ्य जाँच गराए
सिँजामा २७३ जनाले निःशुल्क स्वास्थ्य जाँच गराए
    • उमेश बुढा

    • २९ फाल्गुन २०८१, बिहीबार

जुम्ला

सिँजा गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २७३ जना स्थानीयवासी लाभान्वित भएका छन्। गाउँपालिकाको वडा नं. २ अन्तर्गत विष्टवाडा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

उक्त शिविर जनस्वास्थ्य कार्यालय जुम्लाको सहयोगमा, प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको समन्वयमा तथा सिँजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार सम्पन्न भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो।

स्वास्थ्य शाखा संयोजक ललित रोकायाका अनुसार शिविरमा रक्तचाप (प्रेसर), मधुमेह (सुगर), महिलाको पाठेघर क्यान्सर जाँचलगायतका परीक्षण गरिएका थिए। शिविरमा २११ जना महिला र ६२ जना पुरुषले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।

स्वास्थ्य परीक्षण विवरणअनुसार:

  • तौल र उचाइ मापन: १८२ जना
  • रक्तचाप जाँच: २७३ जना
  • मधुमेह परीक्षण: २०० जना
  • पिसाबमा प्रोटिन जाँच: २०० जना, जसमा ५ जनामा प्रोटिन देखिएको
  • पाठेघर परीक्षण: १४४ जना महिला
  • रिङ्ग प्रेसरी प्रयोग गरेका: ७ जना महिला
  • पाठेघरको शल्यक्रिया आवश्यक पर्ने: २ जना महिला

शिविरमा पाठेघरसम्बन्धी समस्या देखिएका २६ जना महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला रेफर गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

यस किसिमका निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको जनस्वास्थ्य विशेषज्ञहरूले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित