गलेश्वर ।
रुमका स्थानीयवासीले अब आफ्नै निजी जग्गामा रहेका स्लेट तथा ढुङ्गा खानी दर्ता गरी उत्खनन् गर्न पाउने भएका छन्। गाउँपालिकाको गाउँ सभाबाट “ढुङ्गा खानी तथा उत्खनन् सम्बन्धी ऐन, २०८१” पारित भएपछि स्थानीयलाई कानुनी रूपमा खानी सञ्चालनको बाटो खुलेको हो।
रुम गाउँको डुडे लेक, निजी जग्गा, पाखो तथा खरबारी क्षेत्रमा गुणस्तरीय स्लेट, ढुङ्गा र औषधिजन्य जडिबुटी पाइने भए पनि उत्खनन् सम्बन्धी स्पष्ट कार्यविधि नहुँदा खानी सञ्चालन हुन सकेको थिएन। तर, नयाँ ऐनले अब निजी जग्गामा रहेका स्लेट खानीलाई दर्ता गरी व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने कानुनी व्यवस्था गरेको छ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार निजी जग्गामा रहेका स्लेट खानीलाई आवश्यक प्रक्रिया पूरा गरेपछि गाउँपालिकाले उत्खनन् गर्न अनुमति दिन सक्ने व्यवस्था मिलाइएको छ। यसले स्थानीयलाई रोजगारी सिर्जना गर्नुका साथै गाउँपालिकालाई आम्दानीको अवसर पनि दिने विश्वास गरिएको छ।
स्थानीय टेकबहादुर रोकाका अनुसार यहाँको स्लेट र ढुङ्गा गुणस्तरीय छन्, जसलाई प्रविधियुक्त प्रशोधन गरिएमा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने सम्भावना छ।
रुमका विभिन्न सात स्थानमा स्लेट खानीहरू रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिए। केही वर्षअघि सम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँची लगायतका जिल्लाबाट घर छाउने ढुङ्गाको उच्च माग रहेको थियो।
गाउँपालिकाले पारित गरेको नयाँ ऐनले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था गरेको छ। यसअघि, स्थानीयहरूले खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए, जुन अब पूरा भएको छ।